६ बैशाख २०८१, बिहिबार

मधेसी मोर्चा अहिलेपनि आन्दोलनमै


Mahanta Thakur Mahanta Thakur

काठमाडौं- मधेसी मोर्चा नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफूहरू अहिले पनि आन्दोलनकै अवस्थामा रहेको बताएका छन्। ‘यो केही समयका निम्ति रोकिएको मात्र हो’, शनिबार राजधानीमा आयोजित विचार–विमर्श बैठकमा सहभागी पत्रकारसँग ठाकुरले भने, ‘लक्ष्यमा पुग्नुअघि यो ठहराउ (स्थगन) शक्ति आर्जनका निम्ति भएको छ।’
ठाकुर नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई–मधेस आन्दोलनक्रममा आमहडताल, बन्द र सीमा बन्द गरेको थियो। यी आन्दोलन कार्यक्रम स्थगन भएको दुई महिना भइसकेको छ। यसबीच तराई–मधेसका नेताले आन्दोलनका मागप्रति सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गर्दै आएका छन्।
आन्दोलन स्थगनको यो समयमा सार्थक वार्ताका निम्ति पहल गर्नुभन्दा पनि सरकारको तर्फबाट विगत आन्दोलनका सहभागीलाई मुद्दा लगाउने काम भइरहेको आरोप ठाकुरले लगाए। ‘मधेस आतंकमा छ,’ उनले भावुक हुँदै भने, ‘मधेस शोकमा छ, पीडामा छ र उदासीमा छ।’

ठाकुरले आन्दोलनप्रति सामाजिक सद्भाव बिथोल्ने र देश टुक्र्याउने आरोप लागेकोमा चिन्ता व्यक्त गरे। ‘विद्रोह हाम्रो जन्मसिद्ध अधिकार हो,’ उनले भने, ‘तर हामी विभाजित हुन्छौं भन्ने आरोप उनीहरूको दिमागको उपज हो।’

राज्य र मधेसबीच फल्टलाइन खिचिएको उल्लेख गर्दै ठाकुरले त्यो उजागर भएको समेत बताए। जातीय, भाषिक, सांस्कृतिक, वर्गीय आदि आधारमा विभेद भएको हुनाले त्यसलाई हटाउन पनि तराई मधेस आन्दोलनमा उद्यत भएको उनले चर्चा गरे। संविधान निर्माण आधार र सिद्धान्तमा हुनुपर्नेमा त्यसको आधार बिर्सिएको आरोप उनले लगाए। संविधान जारी गर्ने बेलामा तराई–मधेसकेन्द्रित पार्टीका नेता प्रक्रिया बहिष्कार गरी आन्दोलनमा भाग लिएका थिए।

‘जुन मधेसले संघीयता प्रस्ताव गरेको थियो, उसैलाई अलग राखेर संविधान जारी गरिएको छ,’ ठाकुरले भने, ‘हाम्रा भावनालाई यो संविधानले उपेक्षा गरेको छ।’

संविधान जारी गर्ने तत्कालीन राष्ट्रपति रामवरण यादवप्रति समेत गुनासो गर्दै ठाकुरले भने, ‘पूर्वराष्ट्रपतिले समेत मधेसका ९५ प्रतिशत माग पूरा भयो भन्नुभएछ।’ अहिलेसम्म प्रजातान्त्रिक आन्दोलनमा कांग्रेस, एमाले, एमाओवादीलगायत नेतासँग सँगै होमिए पनि यसपटकको तराई–मधेस आन्दोलनमा आफूहरूलाई एक्ल्याइएको उनको गुनासो थियो।

महन्थले आफूहरू वार्तामार्फत नै समस्या समाधान होस् भन्ने पक्षमा रहे पनि सरकारले वार्ताका लागि नबोलाएको गुनासो गरे। ‘हामी जहिले पनि वार्ता र संवादकै पक्षमा छौं,’ उनले भने, ‘तर सरकारले अहिलेसम्म वार्ताका लागि बोलाएको छैन, यसले हामीलाई अचम्ममा पारेको छ।’ मधेसी मोर्चाले आफ्ना माग पूरा गर्न सरकालाई चैत मसान्तसम्मको समय दिएको छ। आफूले दिएको समयभित्र माग पूरा नभए वैशाखदेखि आन्दोलन गर्ने मोर्चाले चेतावनी दिइसकेको छ।

ठाकुरले अब हुने आन्दोलनका विषयमा विभिन्न पक्षसँग सुझाव लिने काम भइरहेको भन्दै वैशाखदेखि फरक किसिमको आन्दोलन गर्ने बताए। तर, आन्दोलनको स्वरुपबारे केही खुलाएनन्। संविधानप्रति असन्तुष्टि जनाउँदै मोर्चाले तराईमा करिब ६ महिना लामो आन्दोलन गरेको थियो। मोर्चाको मागलाई समर्थन गर्दै भारतले समेत नेपालमाथि अघोषित नाकाबन्दी लगाएको थियो।

भारतले अघोषित नाकाबन्दी हटाएपछि मोर्चाले पनि आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो। मोर्चाको माग सम्बोधन गर्न भन्दै सरकारले संविधान संशोधन गरिसकेको छ भने मोर्चाले मुख्य रुपमा असन्तुष्टि जनाएको सीमांकनको समस्या समाधान गर्न भन्दै सरकारले राजनीतिक संयन्त्रसमेत गठन गरिसकेको छ। तर, मोर्चाले संविधान संशोधनले समेत आफूहरुको माग पूरा नभएको भन्दै माग पूरा गर्न चैत मसान्तसम्मको समयसीमा दिएको छ। मोर्चाले तराईमा दुई प्रदेश हुनुपर्ने र सीमांकन सच्याउनुपर्ने माग गर्दै आएको छ।

तराई–मधेस आन्दोलनका बेला मिडियाप्रतिको गुनासो भए पनि ठाकुरले बैठक गुनासो गर्न आयोजना नगरिएको बताए। ‘हामी तपाईंहरूबाट आन्दोलनका विषयमा सुन्न चाहन्छौं,’ उनले भने। पत्रकारले पनि नाका धर्नाजस्तो कार्यक्रम प्रत्युपादक भएकाले त्यस्तो प्रकृतिको आन्दोलन नगर्न सुझाव दिएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !