७ मंसिर २०८१, शुक्रबार

नेकपाले टुङ्ग्यायो कास्कीका ७२ वडामा पार्टी नेतृत्व


cpn nepal

कास्की, १ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सङ्गठन कमिटी कास्कीले पोखरा महानगरपालिकासहित जिल्लाका पाँच वटै स्थानीय तहका ७२ वडामा पार्टीको नेतृत्व चयन गरेको छ । पूर्व नेकपा एमाले र माओवादी केन्द्रका बीचमा केन्द्रमा पार्टी एकता भएर नेकपा गठन भएको १३ महीनापछि महानगर र चार वटा गाउँपालिकाका वडामा पार्टी अध्यक्ष र सचिव चयन गरिएको हो ।

महानगरमा ६०/४० तथा गाउँपालिकामा ५५/४५ को अनुपातमा भागबण्डाको आधारमा नेतृत्वको टुङ्गो लगाइएको छ । महानगरका ३३ वडामध्ये पूर्व एमालेले २० वडामा नेतृत्व गर्ने भएको छ भने पूर्व माओवादी केन्द्रले १३ वटा वडामा अध्यक्ष पाएको छ । अध्यक्ष र सचिव पूर्व फरक पार्टीबाट हुने गरी तोकिएको छ ।

त्यस्तै नौ वडा रहेको माछापुच्छ«े गाउँपालिकाको पाँच वडामा पूर्व एमाले तथा चार वडामा पूर्व माओवादीले अध्यक्ष पाएको छ । मादीका १२ वडामा सात पूर्व एमाले तथा पाँच माओवादी, रुपामा चार पूर्व एमाले तथा तीन पूर्व माओवादी, अन्नपूर्णका ११ वडामा छ पूर्व एमाले र पाँच वडामा पूर्व माओवादीले नेतृत्व पाएको पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं संविधानसभाका सदस्य राजकाजी गुरुङले बताउनुभयो ।

उहाँका अनुसार हिजो बसेको जिल्ला कमिटीको बैठकले सर्वसम्मत रुपमा वडाका अध्यक्ष तथा सचिवको नाम पारित गरी अनुमोदनका लागि प्रदेश कमिटीमा सिफारिस गरेको र प्रदेशबाट अनुमोदन भएलगत्तै केही दिनमा शपथ ग्रहण गराइने छ ।

वडाको नेतृत्व टुङ्गो लगाए पनि नेकपाले स्थानीय तहको नेतृत्व भने अझै निश्चित गर्न सकेको छैन । जिल्ला कमिटी सरहको हैसियत भएको पोखरा महानगर कमिटीको नेतृत्व पार्टी केन्द्रबाट तय गरेपछि मात्र स्थानीय तहको नेतृत्व निश्चित गरिने सो पार्टीले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !