चैत्र २७, २०७२- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले अझै पनि हिन्दू राज्य र राजतन्त्र फिर्ता हुनसक्ने बताएका छन् । शनिबार रिपोटर्स क्लब नेपाल दाङ शाखाले घोराहीमा गरेको साक्षात्कारमा बोल्दै थापाले जनताको विश्वास जितेर संविधानमा नै हिन्दू राज्य र राजतन्त्र उल्लेख गराउन सक्ने बताए ।
संवैधानिक राजतन्त्र र हिन्दू राज्यको मागमा कत्ति पनि बिचलित नभएर सरकारमा छिरेको उनले बताए ।
उनले अबको चुनावमा राप्रपाले त्यो मुद्दामा जित हासिल गर्ने दाबी पनि गरे । उनले कुनै पनि व्यवस्था परिवर्तन गर्न अब फेरि पहिलाको जस्तै आन्दोलन नै
आवश्यक नपर्ने बताए । संविधानकै माध्यमबाट आफ्ना मान्यता स्थापित गराउन सकिने उल्लेख गर्दै थापाले माग पूरा गराउन बन्दुक बोकेर जंगल जाने या सीमामा बसेर नाकाबन्दी गर्ने आवश्यकता नरहेको धारणा व्यक्त गरे ।
उनले संविधानप्रति राप्रपा नेपालको समेत असन्तुष्टी रहेको र बहुमतको कदर गरेर मात्र संविधान स्वीकारेको बताए । बहुमतले पारित गरिसकेपछि संविधानलाई स्वीकार गर्नु प्रजातिन्त्रक आदर्श भएको थापाले बताए ।
थापाले सरकारले शुक्रबार मात्रै गठन गरेको संघीयता कार्यान्वयन उच्चस्तरीय समितिप्रति आफ्नो असन्तुष्टि रहेको बताए । त्यसमा स्थानीय विकास मन्त्रालयलाई नसमेटेको भन्दै उनले त्यसबारे प्रधानमन्त्रीसँग कुरा गर्ने बताए ।