६ जेष्ठ २०८१, आइतबार

निर्णय सच्चाउनुपर्ने


bijaya-kumar-gachhedar

१२ चैत, विराटनगर । नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संवैधानिक परिषद्को सोमबार भएको निर्णय सच्याउनु पर्ने धारणा व्यक्त गर्नुभएको छ ।

नेपाली काङ्ग्रेस मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राज्य सहमतिको आधारमा सञ्चालन होस् भनेर संवैधानिक व्यवस्थाअनुसार प्रतिपक्षी दलका नेता परिषद्को पदेन सदस्य राखिएकाले सोहीअनुसार सहमतिको आधारमा निर्णय हुनुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका उपसभापतिसमेत रहनुभएका नेता गच्छदारले नेकपा विप्लव समूहलाई वार्ता र छलफलमा ल्याउने राज्यको जिम्मेवारी भएको बताउँदै मुडभेड र द्वन्द्वबाट मुुलुकमा समृद्धि कायम हुन नसक्ने बताउनुभयो

वर्तमान संविधानलाई स्वीकार्य र सर्वमान्य बनाउन विगतमा मधेशवादी दलसँग स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा भएको सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै नेपाली काङ्ग्रेसको पनि यही माग रहेको उहाँले बताउनुभयो । उपनेता गच्छदारले टिकापुर घटनाका सम्बन्धमा लाल आयोगको प्रतिवेदन सार्वजनिक भएमा नै घटनामा को को संलग्न छन् भन्ने प्रष्ट हुने चर्चा गर्दै जननिर्वाचित रेशम चौधरीलाई अविलम्व जेलबाट रिहा गर्नुपर्ने बताउनुभयो ।

एक फरक प्रसङ्गमा उहाँले काङ्ग्रेस सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट पार्दै धर्मका सम्बन्धमा जनमत संग्रह गर्ने पार्टीको जिम्मेवार तहबाट आएको विचार व्यक्तिगत भएको र यससम्बन्धी विषय केन्द्रीय समितिमा प्रवेशसमेत नभएको जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु