४ जेष्ठ २०८१, शुक्रबार

परम्परागत शक्तिसँग सहकार्य आवश्यक


कमल थापा

१ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो समय राष्ट्र विखण्डनको आवाज उठन थालेकाले राष्ट्रिय अखण्डताका लागि परिवर्तनकारी शक्ति र परम्परागत शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

पार्टीले गत फागुन १५ गतेदेखि सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज समापन समारोहमा अध्यक्ष थापाले केही समूहले अहिले विखण्डनको आवाज उठाउएर गतिविधि गरिरहेकामा त्यसतर्फ सरकारलाई चनाखो रहन आग्रह गर्र्दै जनताको अधिकारका लागि देशमा धेरै पटक राजनीतिक आन्दोलन भएको भए पनि विखण्डनको पक्षमा पहिलोपटक आवाज उठेकामा चिन्ता व्यक्त गर्नुभयो ।

स्वतन्त्र मधेशको अभिव्यक्ति दिएर विगतमा गतिविधि गरिरहेका सिके राउतको विचार परिवर्तन गरी शान्तिपूर्ण अवतरण गराएकामा सरकारको सराहाना गर्दै उहाँले भन्नुभयो, “उनको गतिविधि अझै पनि शङ्कास्पद देखिएको छ, सरकारले विशेष निगरानी गर्नुपर्छ, जनमतका माध्यमबाट राष्ट्रको सिमाना घटाउने कार्य कसैलाई पनि सह्य हुन सक्तैन ।”

अध्यक्ष थापाले विप्लव नेतृत्वको माओवादीलाई निषेधको राजनीति गर्न नहुने र उक्त पार्टीले उठाएका राजनीतिक मागलाई वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “देशको दिगो विकास र समृद्धिका लागि विप्लवदेखि पूर्वराजासम्मलाई राजनीतिक स्थान दिनुपर्छ ।” एनसेलले तिर्नुपर्ने पूँजीगत लाभकर असुली, वाइड बडी प्रकरण, ३८ क्विण्टल सुन तस्करीको छानबिन गरी दोषीलाई कारवाहीको उहाँले माग गर्नुभयो ।

पार्टीका नेता बुद्धिमान तामाङ, दीपक बोहरा, कुन्तिकुमारी शाही, नवराज सिंखडालगायतले पार्टीले लिएका वैचारिक दृष्टिकोण जनतालाई जानकारी गराई राष्ट्रिय एकताको पक्षमा जनमत सिर्जना गर्न मेची–महाकाली यात्रा गरेको विचार व्यक्त गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !