६ जेष्ठ २०८१, आइतबार

दुई विधेयक विधायन समितिमा


विधेयक पेश

२१ फागुन, काठमाडौँ । राष्ट्रिय सभाले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक’ र ‘लेखापरीक्षण विधेयक, २०७५’ विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि पठाउन सर्वसम्मतिले पारित गरेको छ ।

सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले दुवै विधेयक सभामा प्रस्ताव गर्नुभएको थियो ।

राष्ट्रियसभा नियमावली प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिको प्रतिवेदन पेश भएको छ । मस्यौदा तयार पार्न सांसद दिलकुमारी रावलको संयोजकत्वमा नौ सदस्यीय समिति गठन भएको थियो । समितिले सर्वसम्मत तयार पारेको मस्यौदा संयोजक रावलले आजको बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पेश गर्नुभयो ।

यही फागुन २ गते पहिलो बैठक बसी समितिले काम शुरु गरेको थियो । औपचारिक एवं अनौपचारिक गरी आठ पटक बैठक बसी समितिले सर्वसम्मत रुपमा मस्यौदा तयार पारेको सांसद रावलले सुनाउनुभयो । समितिमा रामनारायण बिंडारी, जीतेन्द्रनारायण देवलगायत सदस्य हुनुहुन्थ्यो । सभाको अर्को बैठक यही फागुन २६ गते अपराह्न १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !