७ मंसिर २०८१, शुक्रबार

मातृभूमिको विकासमा योगदान गर्न आह्वान


ज्ञवाली

१३ फागुन, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई मातृभूमि नेपालको विकासमा योगदान गर्न आह्वान गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहनुभएका उहाँले गैरआवासीय नेपाली सङ्गठन र समुद्रपार नेपाली मञ्चका पदाधिकारीसँग आइतबार साँझ भएको छलफलमा विदेशमा रहेका नेपालीलाई आफ्नो जन्मभूमिको विकासमा सघाउन आग्रह गर्नुभएको हो ।

विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिको उपयोग नेपालको विकासका निम्ति उपयोग गर्न मन्त्री ज्ञवालीले आग्रह गर्नुभएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि स्थायी नेपाली नियोगले जनाएको छ ।

उहाँले आर्थिक एवम् सामाजिक विकाससहित भौतिक पूर्वाधार निर्माणको दीर्घकालीन योजना र दृष्टिकोण, आगामी चैतमा आयोजना हुने दोस्रो लगानी सम्मेलनको महत्व, लगानीको वातावरण तयार गर्ने सिलसिलामा सरकारले अवलम्बन गरेका कानूनी सुधारका विषय, एकद्वार प्रणालीबाट लगानीकर्तालाई सेवा प्रवाह तथा विशेष आर्थिक क्षेत्र सञ्चालनबारे जानकारी दिनुभएको थियो ।

आजदेखि चैत ११ गतेसम्म हुने परिषद्को उद्घाटन सत्रमा उहाँ सहभागी हुने तथा भोलि मङ्गलबार परिषद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उक्त नियोगले जनाएको छ । हाल नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सदस्य हो । मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग फागुन १५ गते द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !