१ मंसिर २०८१, शनिबार

सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण–विशेष समय


pratinithisava

२९ पुस, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद कमला रोक्काले रुकुम पूर्वमा सञ्चालित कतिपय विकास निर्माणका आयोजना अलपत्र अवस्थामा परेको भन्दै आयोजनालाई समयमै प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डा. मीनेन्द्र रिजालले आर्थिक समृद्धिको नारा लिएको सरकारले विलासिताको सुविधा उपयोग गर्नेगरी करोडौँ मूल्यमा सवारीसाधन खरिद गर्ने, महङ्गा भवन बनाउनेजस्ता निर्णयले सरकारलाई नै गिज्याइरहको चर्चा गर्दै बुद्धिजीवीलाई गाली गरेर, कर्मचारीलाई तर्साएर, पत्रकारको स्वतन्त्रतामाथि कुण्ठित गर्ने तथा संसद्लाई छलेर गरिने गतिविधिले लोकतन्त्रलाई कमजोर तुल्याउँछ भन्नुभयो ।

सांसद प्रदीप यादवले वाइड बडी विमान खरीद विषयमा सार्वजनिक लेखा समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सो खरीद प्रक्रियामा संलग्न दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो ।

सांसद प्रमोद साहले सर्लाही जिल्लाका विभिन्न स्थानमा हात्तीले हालसम्म ७० घर भत्काइसकेको हुँदा हात्ती आतङ्क रोक्न, सामाजिक परिचालक र आन्दोलनरत स्वास्थ्य सहायकका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रेम सुवालले उच्च रक्तचाप भएका बिरामीले खाने औषधिको मूल्यवृद्धि भएको, प्रदेश १ का जिल्लाबाट भारततर्फ सुपारी तस्करी बढेको बताउँदै त्रिभुवन विश्वविद्यालयको जमीन कुन प्रक्रियाले भाडा लगाउने काम भयो रु भन्ने प्रश्न गर्नुभयो ।

सांसद गङ्गा चौधरीले थारु जनजातिका माघी पर्व अवसरमा माघ १ गते सार्वजनिक बिदा दिन सरकारसित माग गर्नुभयो । सांसद दिलेन्द्रप्रसाद बडूले विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रताका लागि यसको सञ्चालनको जिम्मा सम्बन्धित प्रदेशलाई दिनुपर्ने माग गर्दै सङ्घीयताको मर्मअनुसार सङ्घले विश्वविद्यालयमाथि हस्तक्षेप गर्नु हुँदैन भन्नुभयो ।

सांसद आशाकुमारी विकले सुदूर पश्चिमको विकृतिका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्न प्रभावकारी कानूनको कार्यान्वयनमा जोड दिनुभयो । सांसद डा डीला सङ्ग्रौलाले हालसम्म सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाउँदै सरकारले डा गोविन्द केसीसित गरेको सहमति पालना गर्नुपर्छ भन्नुभयो ।

सांसद झपडबहादुर रावलले भ्रष्टाचार नियन्त्रणमा सरकारले विशेष ध्यान दिन र सडक पूर्वाधारमा लगानी बढाउनुपर्छ भन्नुभयो । सांसद यज्ञराज सुनुवारले वाइड बडी विमान खरीद प्रक्रियामा को–को संलग्न छन् रु यसका बारेमा सदनमा जानकारी गराउन सरकारसित माग गर्नुभयो ।

सांसद मोहन बानियाँले सङ्घीयताको मर्मअनुरुप सेवाग्राहीलाई पालिकाबाट नै सबै सेवा उपलब्ध गराइने व्यवस्था मिलाउनुपर्छ भन्नुभयो ।

सांसदबीच विभेद गरियो : शून्य समय

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदको बीचमा अर्थ मन्त्रालयले रकम विनियोजन गर्दा विभेद गरेको भन्दै यसलाई सच्याउन सरकार र सदनको ध्यानाकर्षण गर्नुभएको छ ।

संसद् सचिवालयले हाल कारोवार गर्दै आएको एभरेष्ट बैंकको विकल्पमा राष्ट्रिय वाणिज्य बैंक अथवा अन्य कुनै सरकारी बैंकबाट कारोवार गर्न र संसद् सचिवालयमा रहेको चमेना गृह थप व्यवस्थित गर्न सचिवालय माग गर्नुभयो ।

सरकारले हालै जारी गरेको मर्यादाक्रम सच्याउन, सरकार र डा गोविन्द केसीका बीचमा भएको सहमति अक्षरशः पालन गर्न, निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउनसमेत सांसद्ले बैठकमा माग गर्नुभयो ।

यसरी आफ्नोे भनाइ राख्ने सांसदहरुमा लक्ष्मी परियार, लालकाजी गुरुङ, विनाकुमारी श्रेष्ठ, विन्दा पाण्डे, शशी श्रेष्ठ, शान्ता चौधरी, शान्तिमाया तामाङ, सत्या पहाडी, सीतादेवी यादव, हरिराज अधिकारी, हरिबोल गजुरेल, ज्ञानकुमारी छन्त्याल र ज्ञानेन्द्रबहादुर कार्की हुुनुहुन्थ्यो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !