९ असार २०८१, आइतबार

प्रचण्डले खोले एमालेलाई छोड्नुका ३ कारण


prachanda

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार रहिरहेको भए राष्ट्र विखण्डनको अवस्थामा पुग्न सक्ने खतरा औंल्याउँदै त्यसलाई जोगाउन आफूले एमालेलाई छाड्नुपरेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अनलाईन मिडियाका सम्पादकहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एउटा समुदायलाई बोकेर अर्कोलाई निषेध गर्दा राष्ट्र नै विखण्डन हुने खतरा देखेर छाड्नुपरेको बताएका हुन् ।

“ओलीजीलाई किन छाड्नुभयो भन्ने बजारमा व्याख्या त केही सुनिरहनुभएकै छ,” प्रचण्डले भने,“उहाँले एउटा समुदायलाई बोकेर अन्य समुदायलाई पुरै बेवास्ता र निषेध गर्दा राष्ट्र विखण्डन हुने देखेर नै मैले प्रश्न उठाउन थालेको हुँ ।”

प्रचण्डले १२ बुँदेदेखि संविधानसभाको निर्वाचनसम्म कांग्रेस र माओवादीकै भूमिका रहेको र ओलीले चुनाव गराउन नचाहेका कारण उनलाई छाड्नुपरेको बताएका हुन् ।
“१२ बुँदे देखि नै माओवादी र कांग्रेस एकठाउँमा थिए,” उनले भने,“एमालेको कुनै भूमिका थिएन । एमालेको अगुवाईमा शान्ति प्रक्रिया भएकै होइन । यो प्रक्रियाको लिडर माओवादी र एमाले होइन । त्यसैले शान्ति प्रक्रिया टुंगो लगाउन एमालेले चाहेर पनि सक्दैन थियो ।”

उनले एकातिर देश विखण्डन हुने अर्कोतिर शन्ति प्रक्रिया नटुंग्याउने खतरा बढ्नु र त्यसमा चुनाव पनि नहुने देखेर छाड्नुपरेको बताए । उनले भारत भ्रमण अघि नै संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराउने बताए । उनले त्यसपछि मात्रै भारत भ्रमण हुने धारणा पनि राखे ।

“जनताको ध्यान विकासतिर छ । सुशासनतिर छ,” प्रचण्डले भने,“विद्रोह, ठुला कुरा, दर्शनबाट जनता वाक्क भएका छन् । ” उनले अहिले जनताले जान्ने गरी नै आफूले केही गर्न चाहेको पनि बताए ।उनले स्थानीय निकायको संख्या आयोगले दिएको भन्दा केही बढाएर पनि चुनाव गराउनैपर्ने बाध्यता भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !