२२ भाद्र २०८१, शनिबार

पारमाणविक विधेयक प्रस्तुत


girirajmani-pokhrel

१७ पुस, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, २०७५’ प्रस्तुत गर्नुभयो ।

विधेयक प्रस्तुत गर्नुहुँदै मन्त्री पोखरेलले सरकारले अन्तर्राष्ट्रियरूपमा गरेका प्रतिबद्धता कार्यान्वयन गरी विकसित प्रविधिका माध्यमबाट समृद्धिको लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताउनुभयो ।

विधेयकमाथि विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्नुहुँदै सांसद प्रेम सुवालले कम्पनी र व्यक्ति विशेषलाई हतियार उत्पादन गर्न दिन नहुने बताउनुभएको थियो । सांसद सुवालको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गर्ने निर्णय गरेको थियो ।

“कर्मचारी समायोजन अध्यादेश–२०७५” बहुमतले स्वीकृत

बैठकले “कर्मचारी समायोजना अध्यादेश–२०७५” बहुमतले स्वीकृत गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सभामा पेश गर्नुभएको सो अध्यादेशलाई प्रतिनिधिसभाका बहुमत सदस्यले स्वीकृत गरेका हुन् ।

सांसद गगनकुमार थापाले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नुभएको थियो । बैठकमा सांसद थापाले विधिशास्त्रीय ढङ्गले “कर्मचारी समायोजन अध्यादेश–२०७५” सङ्घीयता विपरीत भएकाले सूचना फिर्ता नलिने जानकारी गराउनुभएको थियो ।

त्यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले “कर्मचारी समायोजन अध्यादेश–२०७५” लोकतान्त्रिक प्रक्रियासँग जोडिएर आएकाले कुनै शङ्का नगर्न संसदलाई आग्रह गर्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !