३ असार २०८१, आइतबार

पुरानै संरचनामा स्थानीय निर्वाचन, अर्को चुनावअघि पुनर्संरचना : देउवा


sher-badhur-deuwa

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चैतमा स्थानीय निकायको पुनर्संरचना गरेर निर्वाचन गर्न कठिन हुने बताएका छन्। ‘चैतमा स्थानीय निकायको निर्वाचन गर्ने हो भने अहिलेकै संरचनामा चुनाव गर्नुपर्छ,’ देउवाले कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै भने, ‘पुनर्संरचना सजिलो विषय पनि होइन र चैतभित्रै निर्वाचन गर्नका लागि पुनर्संरचना गर्ने हो भने झन समस्याहरु आउँछन्।’

स्थानीय निकायको पुनर्संरचानका लागि अध्ययन गर्न गठित समितिले अघिल्लो सरकारकै पालामा प्रतिवेदन बुझाएको थियो जसमा गाउँ विकास समिति घटाएर गाउँपालिका बनाउन सुझाव दिइएको छ। सरकार फेरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले समितिले बुझाएको प्रतिवेदनलाई थप परिमार्जन गर्नका लागि समय दिएका छन्। विवादित बनेको प्रतिवेदन लागू गर्न दलीय सहमति खोज्ने पनि प्रचण्डले प्रयास गर्ने बताएका छन्।

प्रतिवेदनअनुसार कुनै पनि हालतमा गाउँपालिका घटाउन नमिल्ने देउवाले दावी गरे। ‘पुनर्संरचना गर्ने हो भने बैज्ञानिक ढंगले गर्नुपर्छ। त्यसका लागि राम्रोसँग अध्ययन हुनैपर्छ,’ देउवाले भने, ‘अहिले पुरानै अवस्थामा निर्वाचन गरेर अर्को निर्वाचनअघि गाउँपालिका संख्या सहित तय गरेर निर्वाचन गरौला।’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि समितिले बुझाएको प्रतिवेदनलाई स्वीकार्न नसकिने तर्क पेश गरे। उनले अहिलेका जिल्ला संरचनालाई यथावत राखेर पुनर्संरचाना गर्नुपर्ने बताए।
स्थानीय निकायको पुनर्संरचना कस्तो हुने भन्ने विषयमा कांग्रेसले आफ्ना जिल्ला सभापतिको काठमाडौंमा भेला बोलाएको हो। दुई दिने भेलामा सभापति देउवा र नेता पौडेलले जिल्लाबाट आएका नेताहरुले कुरा उठाउनुअघि नै यस्तो अभिव्यक्ति दिएका हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !