१२ पुस, लहान । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज बिहान सिरहाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालको निरीक्षण गर्नुभयो ।
बिहान ८ बजेतिर अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री यादवले अस्पतालको निरीक्षणपश्चात् अस्पताल व्यवस्थापनलाई निर्देशन दिनुहुँदै अस्पताललाई सुविधासम्पन्न ‘सेकेण्डरी’ तहको अस्पताल बनाउने घोषणा गर्नुभयो ।
अस्पतालमा कमी रहेको विशेषज्ञ चिकित्सक, दक्ष जनशक्ति र भौतिक उपकरण छिट्टै पठाउने आश्वास दिनुहुँदै अब श्ययाका आधारमा नभई तहका आधारमा अस्पताललाई वर्गीकरण गरिने जानकारी दिनुभयो । अब अस्पतालहरू ‘प्राइमरी’, ‘सेकेण्डरी’ र ‘ट्रोसियल’ गरी तीन तहमा वर्गीकरण गरी सोही अनुसारको अस्पतालहरूको विस्तार गरिने उहाँको कथन थियो । अस्पतालमा देखिएका कमीकमजोरीलाई तत्काल सुधार गरी जनतालाई भरपर्दाे र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उहाँले अस्पताल प्रशासनलाई निर्देशनसमेत दिनुभयो ।
अस्पताल निरीक्षणका क्रममा अस्पतालका मेसु डा. सुनिलकुमार कुशवाहाले अस्पतालको अवस्था र जनशक्तिबारे उपप्रधानमन्त्री यादवलाई जानकारी गराउनुभयो ।
यस्तै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले आजै बिहान लहान नगरपालिका–३ मा स्थापना हुने बाल अस्पताल जग्गाको समेत स्थलगत निरीक्षण गर्नुभयो । (रासस)