१२ असार २०८१, बुधबार

प्रचण्ड भदौ अन्तिममा भारत जाने


Prachanda

प्रधानमन्त्री पुष्पकमल दाहाल भदौको अन्तिम साता मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री दाहालका विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटवार्ताका क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भदौ अन्तिममा प्रधानमन्त्री दाहालको भारत भ्रमणको व्यवस्था मिलाउने जानकारी गराएकी हुन्।

निधिसँगको भेटवार्ताका क्रममा विदेशमन्त्री स्वराजले पहिले नेपालका प्रधानमन्त्री दाहालले भारत भ्रमण गर्नेे, त्यसपछि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको औपचारिक भ्रमणमा आउने विषयमा कुराकानी भएको जानकारी निधिका सहयोगी विश्वास विक्रमले सेतोपाटीलाई दिए।

नेपालमा संविधान जारी भएको पहिलो वार्षिक उत्सवको अवसरमा असोज ३ गते विशेष अतिथिका रुपमा भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाल ल्याउन सरकारको तर्फबाट निधिले भारतीय सरकारी पक्षसँग कुराकानी गरिरहेका छन्।

यस विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट राष्ट्रपति मुखर्जीलाई निधिले शुक्रबारै निमन्त्रणा पत्र पनि बुझाएका छन्। राष्ट्रपति मुखर्जीले आफूले विगतमा नेपालको पटक-पटक भ्रमण गरेको र यहाँका राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेको स्मरण गराएका थिए।

स्वराजसँगको भेटवार्तामा भारतीय राष्ट्रपतिको नेपाल भ्रमण पश्चात राष्ट्रपति विद्यादेवी भण्डारी भारतको भ्रमणमा जाने र त्यसपछि प्रधानमन्त्री दाहालको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण आउने विषयमा कुराकानी भएको विश्वासले बताए।

नेपालमा भएको सत्ता परिवर्तनका अतिरिक्त राजनीतिक परिवर्तनमा भारतीय संलग्नता र हस्तक्षेपबारे बाहिर आएका चर्चा परिचर्चामा कुनै सत्यता नभएको भन्दै विदेशमन्त्री स्वराजले यो नेपाली जनता र नेपालका राजनीतिक दलहरुको आन्तरिक मामिला भएको बताएकी थिइन्।

भारतीय विदेशमन्त्री स्वराजलाई भेट्नुपूर्व निधि भारतीय गृहमन्त्री राजनाथ सिंहले दिल्लीस्थित ताजमानसिंह होटलमा आयोजना गरेको दिवा भोजमा सहभागी भएका थिए भने स्वराजसँगको भेटवार्तापश्चात राष्ट्रपति मुखर्जीलाई भेट गर्न राष्ट्रपति भवन गएका थिए।

भारतीय उच्च अधिकारीहरुसँगको भेटवार्ताका क्रममा मन्त्री निधिले संविधान कार्यान्वयनमार्फत मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता रहेको बताएका थिए।

संविधानका कतिपय विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनरमा रहेको मधेसी मोर्चा र तराई मधेससँगै आदिवासी जनजाति लगायतका जनताको माग सम्बोधन गर्न वर्तमान सरकारमा साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच ७ बुँदे सहमति भएको जानकारी निधिले गराएका थिए।

उक्त सहमतिको आधारमा मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार कांग्रेस र माओवादीले संविधानमा आवश्यक संशोधन गरी असन्तुष्ट पक्षको माग सम्बोधन गर्न तयार रहेको भन्दै नेपालमा राजनीतिक स्थिरता र दिगो आर्थिक विकासमा भारतीय समर्थन र सहयोगको आग्रह निधिले गरेका थिए।

जवाफमा गृहमन्त्री सिंह, विदेशमन्त्री स्वराज र राष्ट्रपति मुखर्जीले संविधान कार्यान्वयनमार्फत मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक विकास हासिल गर्ने वर्तमान सरकारले लिएको पहललाई सकारात्मक कदम भन्दै यसका लागि भारतले सँधैं उदार भावनाले सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए।

विदेशमन्त्री स्वराजसँगको भेटवार्ताका क्रममा निधिले नेपालका भूकम्प पीडितहरुको पुनःस्थापना र उनीहरुको आवास निर्माणका लागि सरकारले दिने भनिएको दुई लाख रुपैयाँ अनुदानमा प्रधानमन्त्री दाहालले थप एक लाख रुपैयाँ उपलब्ध गराउन चाहेको जानकारी गराएका थिए।

यसका लागि प्रधानमन्त्री दाहालले भारतीय सहयोगको अपेक्षा गर्दै भारत सरकारसँग कुरा गर्न आफूलाई भनेको जानकारी पनि निधिले गराएका थिए।

भूकम्प पीडितका लागि थप एक लाख रुपैयाँ अनुदान सहयोगको व्यवस्था गर्ने विषयमा प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणका पूर्व तयारीका क्रममा के कति सहयोग गर्न सकिन्छ गृहकार्य गरी जानकारी दिने आश्वासन स्वराजले दिएकी थिइन।

त्यसैगरी निधिले लामो समयदेखि निर्माण कार्यमा प्रगति हुन नसकेको हुलाकी राजमार्गको पहिलो र दास्रो चरणको निर्माण प्रक्रिया अघि बढाउन भारत सरकारसँग आग्रह गरेका थिए।
निधिले पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि गर्न बाँकी रहेको विस्तृत परियोजना सर्वेका लागि भारतीय सहयोगको आग्रह गर्दै तत्काल वीरगञ्ज सिमरा बर्दिवास रेलमार्गको निर्माण कार्यमा सहयोग गर्न पनि आग्रह गरेका थिए।

निधिको आग्रहमा भारतीय विदेश मन्त्री स्वराजले मुजफ्पुर ढल्केबार विद्युत प्रसारण लाइन विस्तारमा के कति सहयोग गर्न सकिन्छ प्रधानमन्त्री दाहालको भ्रमण पूर्व तयारी गर्ने आश्वासन दिएकी थिइन्।

स्वराजसँगको भेटका क्रममा निधिले भारतीय प्रधानमन्त्री मोदीलाई जतिसक्दो चाँडो नेपालका ऐतिहासिक तथा धार्मिक पर्यटनस्थल जनकपुर, काठमाडांै र लुम्बिनीको भ्रमण गर्न प्रधानमन्त्री दाहालले दिएको निमन्त्रण पत्रबारे जानकारी गराएका थिए।

प्रधानमन्त्री दाहालको निमन्त्रण पत्र बोकेर दिल्ली पुगेका निधिले भारतीय प्रधानमन्त्री मोदीलाई शनिबार हस्तान्तरण गर्नेछन्।

त्यसअघि भारतीय गृहमन्त्री राजनाथ सिंहसँगको भेटवार्ताका क्रममा निधिले सिंहलाई काठमाडौं, जनकपुर र लुम्बिनी भ्रमणको निमन्त्रण दिएका थिए भने जवाफमा आफू चाँडै भ्रमणको तालिका मिलाएर आउन तयार रहेको जवाफ दिएका थिए।

मधेसी मोर्चा लगायतका असन्तुष्ट पक्षको माग सम्बोधनका लागि वर्तमान सत्तासाझेदार दलले लिएको अग्रसरताप्रति खुुसी प्रकट गरेका थिए।

पूर्वप्रधानमन्त्री सुशील कोइराला र नरेन्द्र मोदीबीच भएको सहमति अनुसार नेपाल प्रहरी एकेडमी निर्माण छिटो गर्न चाहेको गृहमन्त्री सिंहले बताएका थिए। जवाफमा निधिले यसका लागि आवश्यक नीति नियम तयारीमा सरकार लागेको जानकारी गराएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !