७ आश्विन २०८१, सोमबार

मधेस आन्दोलनमा मारिएका ५२ जनालाई शहिद घोषणा


Pm-office

२ भदौ, काठमाडौं । सरकारले मधेस आन्दोलनमा मारिएका ११ सुरक्षाकर्मी र ४१ आन्दोलनकारीलाई शहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको आजको बैठकले उनीहरुलाई सहिद घोषणा गरेको हो ।

सरकारले आन्दोलनकारीका तर्फबाट मारिएका प्रहरीलाई पनि सहिद घोषणा गरेको हो ।

‘शहिद घोषणाका लागि सिफारिस भएकामध्ये आज ५२ जनालाई शहिद घोषणा गर्ने निर्णय भएको छ,’ उर्जा मन्त्री जनार्दन शर्माले भने, ‘बाँकी मारिएका विषयमा थप छानवीन गर्नुपर्ने देखियो ।’

सहिद घोषणा र क्षतिपूर्तिका लागि मधेसी मोर्चाले हालै मात्र सरकारलाई ६८ जनाको सूची पेश गरेको थियो । त्यसमा गृह मन्त्रालयले ५२ जनाको नाममात्र प्रस्ताव गरेको हो ।

मन्त्री शर्माका अनुसार मधेसी मोर्चाले शहिद घोषणाका लागि प्रस्ताव गरेको भारतीय नागरिक आशिष रामलाई सूचीबाट हटाएको बताएका छन् । यस्तै मन्त्रिपरिषदले शहिद घोषणा गरिएका व्यक्तिको परिवारलाई १० लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउनेसमेत निर्णय गरेको छ ।

यसअघि केपी ओली सरकारले पनि आन्दोलनमा मारिएका ४२ जनालाई राहत दिएको बताएको थियो ।

तर, सरकारले भने क्षतिपूर्तिबारे गृह मन्त्रालयबाट प्रस्ताव आएको यो नै पहिलो भएको बताएको छ ।

यसैगरि मन्त्रिपरिषदले तराई आन्दोलनका क्रममा भएका घटना छानविन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गरेको छ ।

बैठकले मधेस आन्दोलनका क्रममा भएका हिंसात्मक घटना, निजी तथा सार्वजनिक सम्पत्तिमा पुगेको क्षति लगायतबारे छानविन गर्न आयोग गठन गरेको छ । सर्वोच्चका पूर्वन्यायाधीश लालको अध्यक्षमा बनेको आयोग सात सदस्यीय रहनेछ । तर, अरु सदस्य भने प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले थप्ने निर्णय गरेको छ ।

नयाँ सरकार गठनका क्रममा कांग्रेस र माओवादीले मधेसी मोर्चासँग गरेको तीनबुँदे सहमतिमा आयोग गठन गर्ने पनि उल्लेख थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु