८ बैशाख २०८१, शनिबार

सबै जातिलाई प्रदेश बाँड्ने भनेकै छैनौँ, ओली सरकारका सही निर्णय कार्यान्वयन हुन्छ : प्रम प्रचण्ड


Prachanda

काठमाडौँ, २२ साउन –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको आयु ९ महिनामात्रै हुने भन्नेबारे कांग्रेसँग कुनै लिखित सम्झौता नभएको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको आयु नौ महिनामात्र हुने भन्नेबारेमा कुनै त्यस्तो लिखित सहमति नभएको तर यतिभित्रमा कामसक्ने वा सरकारको प्राथमिकता के–के हुने भन्नेबारे केही आधारहरू भने तयार भएको बताए ।

सरकार नियन्त्रित नेपाल टेलिभिजनमार्फत शनिबार राती प्रशारण हुने ‘सिधाकुरा प्रधानमन्त्रीसँग’ लाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री प्रचण्डले आफूहरुले प्रत्येक जातीलाई प्रदेश बाँड्ने कहिल्यै नभनेको भन्दै यसमा केहि गलत बुझाइ रहेको बताए । उनले भने, ‘ हामीले कहिल्यै प्रत्येक जातिलाई प्रदेश बाँड्ने भनेकै छैनौँ ।’

यस्तै उनले संविधान कार्यान्वयनको वातावरण सिर्जना गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउँदै भने, ‘संविधान कार्यान्वयन गर्न वातावरण सिर्जना गर्नु आवश्यकता र चुनौती दुवै हो, त्यसका लागि संविधानप्रति असन्तुष्टि व्यक्त गर्ने आदिवासी जनजाति र मधेसी समुदायलाई सहमतिमा ल्याएर सरकार अगाडि बढ्नेछ । ’

संविधान कार्यान्वयनका लागि प्रतिपक्षी दलसँग समेत सहकार्य गरेर अगाडि बढ्ने प्रधानमन्त्री उनको भनाइ छ । त्यसैगरी प्रधानमन्त्रीले आफ्नो सरकारले पुनःनिर्माण, विकास र समृद्धि, भ्रष्टाचार, महँगी, कालोबजारी तथा देशमा व्याप्त दण्डहीनताको अन्त्य गर्ने सङ्कल्प गरे ।

अर्को प्रसंगमा प्रचण्डले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका सबै निर्णय र नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने भन्दापनि राष्ट्र र जनताको पक्षमा भएका निर्णय आफ्नो सरकारले कार्यान्वयन गर्ने बताए ।

उनले भने, ‘सरकार परिवर्तन गर्नुको पछाडि केही न केही अन्तरहरू रहेका थिए, त्यसैले पनि अघिल्लो सरकारका सबै निर्णय कार्यान्वयन हुन्छ नै भन्ने होइन ।’

प्रचण्डको प्रधानमन्त्री भएपछि यो उनको पहिलो टेलिभिजन अन्तर्वार्ता हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !