९ कात्तिक, इस्तानबुल । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लाग्नु भएको पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
खान प्रधानमन्त्री भएपछि उहाँको यो पहिलो चीन भ्रमण हुने भएको छ । उहाँको भ्रमण टोलीमा अन्य उच्च अधिकारी पनि सहभागी हुने भएका छन् ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उहाँको भ्रमणले दुई देशको सम्बन्ध थप राम्रो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
त्यसैगरी आपसी सहकार्य र सहयोग आदानप्रदानका बारेमा पनि भ्रमणका क्रममा छलफल हुने विज्ञप्तिमा जनाइएको छ ।
भ्रमणका क्रममा खानले चिनियाँ नेताहरूसँग छलफल तथा भेटवार्ता गर्नुका साथै थुप्रै सम्झौतामा हस्ताक्षर पनि गर्नुहुने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री खानले बेइजिङसँगै साङ्घाई पनि भ्रमण गर्नुहुने भएको छ । उहाँले चीनमा रहँदा प्रथम चिनियाँ इन्टरनेशनल इम्पोर्ट एक्सपोर्टमा पनि सहभागिता जनाउनु हुने कार्यतालिका रहेको छ ।
पाकिस्तानी उत्पादनहरूको समेत प्रदर्शन गरिने एक्सपोमा उहाँले मुख्य वक्ताको रूपमा सम्बोधन पनि गर्नुहुने पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।(रासस/सिन्ह्वा)