१२ असार २०८१, बुधबार

मधेस आन्दोलनका मृत्यु भएका मृतकका परिवारलाई १० लाख


Simha_Durbar_Gate

काठमाडौं : आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मधेस केन्द्रित मुद्दालाई सम्बोधन गरेको छ। मधेसवादी दलहरुसँग बिहान भएको छलफलपछि बसेको मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनका अवधिमा मृत्यु भएकाका परिवारलाई राहत स्वरुप १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्च बेहोर्न गृह मन्त्रालयलाई भुक्तानीको जिम्मेबारीसमेत तोकेको छ। मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्च अब गृह मन्त्रालयबाट हुनेछ। बैठकको निर्णयअनुसार आफैँले उपचार गरेकाहरुले पनि गृहमार्फत् नै भुक्तानी पाउनेछन्।

बैठकले एक साताभित्र मधेस आन्दोलनमा समातिएकाहरुलाई रिहाको प्रकृया थाल्ने निर्णय गरेको छ। आन्दोलनका क्रममा अपाङ्गता भएकाको २ सातामा विवरण संकलन र आगजनी लगायतका घटनाबारे गृह मन्त्रालयले नै अध्ययन प्रकृया अगाडि बढाउने निर्णय भएको बैठकपछि उपप्रधानमन्त्री कृष्णबहादुर महराले जानकारी दिए।

यसअघि भएको मधेसी दलहरुसँगको बैठकमा प्रधानमन्त्रीका लागि समर्थन गरी मतदान गरेर एउटा बुँदा कार्यान्वयन गरिसकेको भन्दै मोर्चाका नेताहरुले संविधान संशोधन तथा मधेस आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा, घाइतेको उपचार र न्यायिक छानबिनका लागि जोड दिएका थिए। ‘हामीले यी सहमति कार्यान्वयनका लागि क्याबिनेटबाट चाँडो निर्णय होस् भनी भनेका छौं,’ फोरम गणतान्त्रिकका नेता राजकिशोर यादवले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !