१ कात्तिक, भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा ज्येष्ठ नागरिकको भत्ता बढाइने बताउनु भएको छ । आफ्नो सरकार गठन हुँदा मुलुकको ढुकुटी रित्तो अवस्थामा रहेका कारण चालू वर्ष ज्येष्ठ नागरिक भत्ता बढाउन नसकेको उहाँले बताउनुभयो ।
दशैँका अवसरमा नेकपा झापा जिल्ला कमिटीद्वारा आज बिर्तामोडमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा प्रम ओलीले भन्नुभयो, “भनेजस्तो भएन भनेर ज्येष्ठ नागरिकलाई नरमाइलो लागिरहेको होला, आउँदो बजेटमा हामी भत्ता बढाइहाल्छौँ ।”
देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउने आफ्नो मुख्य सङ्कल्प भएको उल्लेख गर्दै उहाँले जनताको अपेक्षा र विश्वासलाई तलमाथि पर्न नदिने बताउँदै प्रम ओलीले भन्नुभयो, “मैले कर्तव्य बुझेको छु, नाकमा कालो लाग्न दिन्नँ ।”
कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडा, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की लगायतको उपस्थिति थियो । (रासस)