२१ असोज, काठमाडौं । पूर्वसभामुख सुवास नेम्बाङले संविधान आवश्यकता र औचित्यताका आधारमा संशोधन हुँदै जाने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाज नेपाल र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) द्वारा संयुक्तरुपमा आयोजित संसदीय मामिला पत्रकारितासम्बन्धी सङ्घस्तरीय अन्तक्र्रिया कार्यक्रमको समापन समारोहलाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले संविधानलाई अझ सर्वस्वीकार्य बनाउन सहमति र सहकार्यका आधारमा संशोधन गर्न सकिन्छ भन्नुभयो ।
पूर्वसभामुख नेम्बाङले संविधान निर्माण गर्न पाँच वर्ष आठ महीना समय लागेको चर्चा गर्दै हतारहतारमा संविधान जारी भएको होइन भन्नुभयो । उहाँले भन्नुभयो “संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । संविधानप्रदत्त अधिकारलाई कहीँ कतैबाट कुण्ठित हुने छैन ।”
लोकतन्त्र स्थापना, संविधान निर्माण, संसद् र संसदीय अभ्यासलाई बलियो बनाउन सञ्चार जगत्ले भूमिका निर्वाह गर्दै आएको पूर्वसभामुख नेम्बाङले बताउनुभयो । उहाँले संसदीय काम कारवाहीलाई अझ जीवन्त बनाउन संसदीय मामिलाका जानकार पत्रकारका कलम अझ तिख्तर बनाउनुपर्नेमा जोड दिनुुभयो ।
राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले मौलिक अधिकारसित सम्बन्धित विधेयक सदनबाट पारित गराउने क्रममा विधेयकका पानासम्म पल्टाउन नभ्याइको बताउँदै दुवै सदन र सदनअन्तर्गत समितिका बैठक ठीक समयमा सञ्चालन गर्न, सदन सञ्चालनसम्बन्धी कार्यतालिका तयार गर्न जरुरी रहेकामा जोड दिनुभयो ।
संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले सङ्घीय संसद्का बैठक प्रत्यक्ष प्रसारण हुन थालेको जानकारी दिँदै अगामी दिनमा एकीकृत सूचना प्रणालीको विकास गर्दै जाने नीति रहेको बताउनुभयो ।
संसदीय मामिला पत्रकार समाजका संस्थापक अध्यक्ष पत्रकार हरिबहादुर थापाले संसद् र यसका गतिविधिलाई अझ जनताप्रति उत्तरदायी बनाउन सञ्चार क्षेत्रले निरन्तर पहरेदारको भूमिका निर्वाह गरी राख्नुपर्छ भन्नुभयो ।
अर्का पत्रकार विष्णु रिजालले संसद्लाई अझ बौद्धिक बहस गर्ने स्थल बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । संसदीय मामिला पत्रकार समाज अधिवेशन आयोजक समितिका अध्यक्ष नरेन्द्र साउद, महासचिव बबिन शर्माले संसदीय गतिविधिलाई बलियो बनाउन सञ्चारकर्मीको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभयो ।(रासस)