२३ पुस २०८१, मंगलबार

कांग्रेस-माओवादी समझदारी: चैतमा स्थानीय चुनाव


deuba-prachanda

कांग्रेस-माओवादी केन्द्र गठबन्धनले चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गर्ने गरी तयारी अघि बढाउने समझदारी गरेका छन्। सिंहदरबारमा बुधबार बसेको गठबन्धनको बैठकले सरकार गठनलगत्तै एमाले र मधेस केन्द्रित दलहरूसँग छलफल गरेर निर्वाचन मिति तय गर्ने निर्णय गरेको हो। कान्तिपुर दैनिकमा समाचार छ।

कांग्रेस र माओवादी गठबन्धनबीच स्थानीय निकायको निर्वाचन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा र प्रदेश तथा संघीय संसदको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने गरी सरकार बनाउने समझदारी यसअघि नै भइसकेको छ।

दुई दलबीच सातबुँदेसँगै भएको तर सार्वजनिक नगरिएको पाँचबुँदे लिखित समझदारीमा चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन सम्पन्न गरी कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने विषय समेटिएका छन्। कांग्रेस नेता विमलेन्द्र निधिले लिखित रूपमै त्यस्तो सहमति भएको पुष्टि गर्दै त्यो अहिल्यै सार्वजनिक नगर्ने बताए। त्यही सहमतिअनुसार स्थानीय निकायको निर्वाचन चैत मसान्तभित्रै गर्ने समझदारी दुई दलबीच भएको हो।

केपी ओली नेतृत्वको सरकारले केही समयअघि मंसिरमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने गरी तीन वटै निर्वाचनका कार्यतालिका सार्वजनिक गरेको थियो। स्थानीय निकायको पुनर्संरचना गरेर मंसिरमै निर्वाचन गर्न असम्भव देखिएको जनाउँदै कांग्रेस र माओवादीले चैतमा निर्वाचन उपयुक्त हुने बताउँदै आएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !