१९ असार २०८१, बुधबार

नेपालको लोकतन्त्र विश्वकै उदाहरणीय : प्रचण्ड


Prachanda प्रचण्ड

५ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको लोकतन्त्र समावेशीको दृष्टिकोणले विश्वकै उदाहरणीय भएको बताउनुभएको छ ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका दरबारको नासल चोकमा आयोजित ‘लोकतन्त्र मेला’लाई आज सम्बोधन गर्दै उहाँले समावेशी प्रजातन्त्र र लोकतन्त्रमा महिला सहभागिताको दृष्टिले विश्वमै नेपाल एउटा उत्साहवद्र्धक उदहारणका रुपमा प्रस्तुत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आजै मात्रै भएको संसद्का विभिन्न समितिको निर्वाचनमा उल्लेख सङ्ख्यामा महिला नेत्री समितिको नेतृत्वमा आउनुभएको छ । झण्डै ९० प्रतिशत महिलालाई प्राथमिकता दिइएको छ । परिवर्तनको आन्दोलनमा साच्चै भूमिका खेलेका र सशक्त क्षमता भएका महिला समितिको सभापतिमा निर्वाचित हुनुभएको छ ।”

राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशमा महिला भएको नेपाल सम्भवत दुनियाँमा पहिलो देश भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले यो कुनै संयोगले आएको नभई नेपालको राजनीतिक नेतृत्वले महिलालाई अगाडि ल्याएर मात्रै समतामूलक समाज निर्माण र साँचो लोकतन्त्र स्थापना गर्न सकिन्छ भन्ने सोचले सम्भव भएको बताउनुभयो ।

नेपालको राजनीतिक परिवर्तनको प्रक्रिया र शान्ति प्रक्रिया पनि मौलिक प्रकृतिको रहेको दोहो¥याउँदै अध्यक्ष दाहालले मुलुकभित्रका राजनीतिक दल र नेतृत्वद्वारा परिस्थितिको विश्लेषण गरिएर निकालिएको निष्कर्षकै आधारमा राजनीतिक परिवर्तन र शान्ति प्रक्रिया अघि बढेको बताउनुभयो ।

उहाँले नेपालको राजनीतिक परिवर्तनको प्रक्रिया र शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदाय, छिमेकी देश तथा विश्वभरीको लोकतन्त्रप्रति समर्पित बुद्धिजीवि र व्यक्तित्वको सहयोग, समर्थन र सद्भाव शुरु देखिनै रहेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको राजनीतिक परिवर्तनको प्रक्रियाको साथसाथै नेपालको मौलिक प्रकृतिको शान्ति प्रक्रिया पनि नेपालको मात्रै सम्पत्ति नभएर अब यो अन्तर्राष्ट्रिय लोकतान्त्रिक आन्दोलनका पक्षधरको पनि एउटा सम्पत्तिका रुपमा रहेको छ । हामीले नेपालको शान्ति प्रक्रिया मौलिक प्रकृतिको विशेषतासहित सबैलाई उदाहरण हुने गरी सफल पारेका छौँ ।”

संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा विधायन व्यवस्थापन समितिले ‘समावेशी लोकतन्त्र : समृद्ध नेपाल’ भन्ने मूल नारासाथ पहिलो पटक लोकतन्त्र मेलाको आयोजना गरेको हो । मेला शनिबारसम्म चल्नेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !