३ असोज, काठमाडौं । चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग आज भेट गर्नुभएको छ ।
अध्यक्ष दाहालले उपराष्ट्रपतिसँगको भेटमा नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरिएको स्मरण गर्दै अबको अभिभारा देशको समृद्धि भएको बताउनुभएको थियो ।
मलुकको समृद्धिका लागि नेपालमा कम्युनिस्ट पार्टीको बलियो सरकार बनाई राजनीतिक स्थिरता निर्माण गरिएको बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
सो अवसरमा अध्यक्ष दाहालले आफूहरुसँग थुप्रै अवसर र चुनौती रहेको उल्लेख गर्दै चुनौतीको सामना गरेर मात्र विद्यमान अवसर प्राप्त गर्न सकिएको बताउनुभएको थियो । उहाँले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई अझै सुदृढ गर्ने तथा नेपाल सरकार र चिनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको मुख्य उद्देश्य भएको दोहो¥याउनुभएको थियो ।
सो अवसरमा उपराष्ट्रपति सानले अध्यक्ष दाहालसँगको विगतका भेट स्मरण गर्दै भन्नुभयो, “तपाईंलाई चीनमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी लागेको छ । तपाईं हाम्रो पुरानो कमरेड हुनुहुन्छ ।”
उपराष्ट्रपति सानले दुई देशबीच भएका सम्झौता कार्यान्वयनका लागि आफूहरु प्रतिबद्ध रहेको भन्दै आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझै विस्तार भएर जाने विश्वास व्यक्त गर्नुभएको थियो ।(रासस)