३ आश्विन २०८१, बिहीबार

मानव जीवनका लागि वन अपरिहार्य : मुख्यमन्त्री शाही


Mahendra Bahadur shahi

३१ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव जीवनका लागि वन अपरिहार्य रहेको बताउनुभएको छ । प्रदेश राजधानी सुर्खेतमा आजदेखि शुरु भएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको प्रथम कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले वन र मानवबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभयो ।

“कर्णाली प्रदेश सरकारले हरित प्रदेश निर्माणको योजना तयारी गर्दैछ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “यसका लागि उच्च प्रविधियुक्त नर्सरीका निम्ति प्रदेश सरकारले रु २४ करोड बजेट विनियोजन गरेको छ ।”

कर्णालीमा सबैभन्दा महँगो काठको जङ्गल बनाउन जडीबुटीको खेतीमा जोड दिने बताउँदै उहाँले सामुदायिक वन उपभोक्ता महासङ्घलाई सरकारको अभिन्न अङ्ग भएर काम गर्न सुझाउनुभयो । बिरुवा रोपेर हुर्काउनेलाई प्रतिबिरुवा रु १०० दिनुका साथै बिरुवाको मालिक जनतालाई बनाउने उहाँको भनाइ थियो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले नाङ्गा डाँडा, पाखापखेरा हरियाली बनाउने अभियानमा सबै जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “जहाँ वन छ, त्यहाँ मानव जीवन छ,” कानूनमन्त्री भण्डारीले भन्नुभयो, “जीवजन्तुको बासस्थान उठ्दा मानव अस्थित्व पनि खतरामा पर्न जान्छ ।”

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशमा ३४ दशमलब ९८ प्रतिशत क्षेत्र वनले ओगटेको र यसको संरक्षणमा सामुदायिक वन उपभोक्ताको सकारात्मक भूमिका रहेको बताउनुभयो ।

महासङ्घका नेपाल केन्द्रीय महासचिव भारती पाठककले नेपालको वन क्षेत्र जोगिनुमा सामुदायिक वन उपभोक्ता महासङ्घ महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गर्नुभयो । कर्णाली प्रदेशका तीन हजार ४४७ सामुदायिक वन रहेको सो अवसरमा जानकारी दिइयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !