७ बैशाख २०८१, शुक्रबार

लोकमानको पक्षमा एक भएर अघि बढने : काँग्रेस


nc-meeting

काठमाडौं, ४ साउन । काँग्रेस केन्द्रिय समितिको बैठकले अनशनरत डा. गोविन्द केसीको मेडिकल सम्बन्धी माग पूरा गराउन पार्टीले दबाव दिने तर अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने कुरा कुनै हालतमा स्विकार्य नहुने र कार्कीको पक्षमा डटेर लाग्ने धारणा राखेका छन् ।

बैठकमा यसअघि सुशील कोइराला नेतृत्वको सरकारले डा. केसीसँग सम्झौता गरेर अनशन तोडाएको भन्दै उनीहरुले अघिल्ला मागहरुको कार्यान्वयन गर्न र अहिलेका माग पूरा गर्न सरकारलाई दबाब दिनुपर्ने धारणा राखेका हुन् । स्रोतका अनुसार पूर्वमन्त्री मिनेन्द्र रिजालले डा. केसीले उठाएको अन्य माग पूरा गर्न कांग्रेसले दबाब दिने तर डा. केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई संसदले महाअभियोग लगाउनुपर्ने भनी माग राखेको बिषयमा भने कांग्रेसले बोल्न नहुंने धारणा राखे । ‘भोलि कसैले राजा ल्याउनुपर्छ भनेर माग राख्दै अनशन बस्यो भने हामी के गर्ने ?’, उनले भने ।

त्यस्तै युवा नेता गगन थापाले समेत डा. केसीको माग पुरा गराउन पार्टीले उचित कदम चाल्नुपर्ने माग गरे । उनले डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बनेकोले उनको मागवारे बेलैमा पार्टीेले कदम चाल्नेतर्फ नेतृत्वले सोच्नुपर्ने भनाई राखेका थिए ।

अर्का नेता अर्जुनरसिंह केसीले पनि डा. केसीको माग सम्बोधन गर्न छिट्टै पहल गर्नुपर्ने बताए । डा. केसीले प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागबारेमा संसदीय उपसमिति बनाउनुपर्ने धारणा राखेका थिए ।

तर यसबारेमा सभापति शेर बहादुर देउवाले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोगको माग गर्नेलाई पार्टीले उचाल्न नहुने भन्दै नेताहरुलाई यसबारेमा जथाभावी नबोल्न चेतावनी दिए । उनले भने,‘काँग्रेस विधि र प्रक्रियाभन्दा बाहिर जान मिल्दैन, साथीहरुले पनि त्यही अनुसार आफ्ना भनाईहरु राख्नुपर्यो, जथाभावी बोल्दैमा के हुन्छ?’

सभापति देउवाले काँग्रेस र माओवादी केन्द्रवीच सहमति भएर नयाँ गठबन्धन बनिसकेकोले सोही बमोजिम अघि बढ्न नेता तथा सांसदहरुलाई निर्देशन दिएका छन् । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भैसक्यो, यसबाट एक ईन्च पनि दायाँबायाँ हुनुहुँदैन ।’ उनले यसबारेमा कोही पनि नेता द्धिविद्धामा नपर्न आग्रह समेत गरेका थिए । नयाँ प्रधानमन्त्री चयन गर्न कुनै संवैधानिक जटिलतमा नरहेको भन्दै संविधानको धारा २९८ बमोजिम नै नयाँ प्रधानमन्त्री चयन हुने उनको दाबी थियो ।

नेतृ सुजाता कोइरालाले माओवादीसँग मिलेर सरकार गठन गर्नु गलत भएको बताएकीछिन् । उनले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने धारणा राखेकी हुन् ।

त्यस्तै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको सरकारले गठबन्धन टिकाउन लागि मन्त्रालयहरु फुटाएर भागबण्डा गरेको भन्दै अब बन्ने सरकारले ति सबै मन्त्रालय जोड्नुपर्ने धारणा राखे । कार्कीले अब बन्ने सरकारमा मन्त्रालयको संख्या २५ भन्दा बढी हुन नहुने धारणा राखे ।

नेता कृष्णप्रसाद सिटौलाले आफूले हिजो राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्दै प्रधानमन्त्रीसंग भएका छलफलहरु पार्टी बैठकमा सुनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो राति नौ बजे नेता रामचन्द्र पौडेल र आज बिहान प्रकाशमान सिंहलाई पनि भेटेका छन् ।

दुवै नेताले बैठकमा प्रधानमन्त्रीसँगको भेटको बिषयमा केही बताएनन् । ‘मैले सभापतिलाई जानकारी दिएरै प्रधानमन्त्रीलाई भेट्न गएको हुँ’, सिटौलाले भने,‘प्रधानमन्त्रीले कांग्रेस र एमाले मिलेर जानुपर्ने धारणा राखे ।’ सिटौलाले अहिले माओवादीसँग गठबन्धन गरेर सरकार बनाउन कांग्रेस अघि बढिसकेको जानकारी आफूले दिएको बताए । प्रधानमन्त्री ओलीले आफूसँगको भेटमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने धारणा राखेको पनि उनले सुनाए ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरुले सभापति शेर बहादुर देउवाले पार्टीमा छलफल नै नगरी माओवादी केन्द्रको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् । पौडेलसहितका नेताहरुले पार्टीभित्र छलफल नगरी निर्णय लिइएकोमा आपत्ति जनाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !