३ चैत, काठमाडौं । एक महिनाभित्र दोस्रोपटक नेपाली कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल कुर्सीको लडाईमा आमनेसामने भएका छन् । पार्टी चुनाव सम्पन्न भएको ठीक ३० दिनपछि कांग्रेस संसदीय दलको चुनाव मंगलबार हुँदैछ ।
कृष्ण सिटौलाको उम्मेदवारीले पार्टी नेतृत्वको निर्वाचनमा त्रिपक्षीय भिडन्त भएको थियो । संसदीय दलमा भने सिटौला अघि सरेनन् । त्यसैले देउवा र पौडेलबीच द्विपक्षिय प्रतिस्पर्धा हुने निश्चित भएको छ । सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेतालाई ‘प्रतिक्षारत प्रधानमन्त्री’ मानिने कारणले पनि दुवैका लागि यो चुनाव महत्वपूर्ण छ ।
महाधिवेशनबाट सभापति जितेका देउवा संसदीय दलको पनि नेता बनेर पार्टीमा एकछत्र राज गर्न चाहन्छन् । भावी प्रधानमन्त्रीमा आफ्नो दावेदारी पनि थप बलियो बनाउनु छ उनलाई । यता महाधिवेशनमा लागेको घाउमा संसदीय दलको चुनावले मल्हम लगाइदिन्छ कि भन्ने आशामा चुनाव लड्दैछन् पौडेल । जितेमा उनको आँखा पनि प्रधानमन्त्री पदमै पुग्नेछ ।
उम्मेदवारी दर्तासँगै देउवा र पौडेल समूह आफ्नो पक्षका सांसदको जोड-घटाउमा लागेका छन् । कांग्रेसका २०६ सांसद रहेकोमा विजयी हुन १०४ सांसदको समर्थन आवश्यक पर्छ ।
संस्थापन पक्षले संसदीय दलको नेतामा देउवाले सहजै जित्ने विश्वास गरेको छ । देउवा निकट नेता मीन विश्वकर्माले १२० भन्दा बढी मत देउवालाई आउने आंकलन गरिएको बताए ।
पौडेल समूहले पनि आशा मारेको छैन । अहिलेसम्मको माहोलमा जितको सम्भावना कमजोर देखिए पनि यस समुहका नेताहरु मिहिनेत गरिरहेका छन् ।
‘अहिलेसम्म हेर्दा हाम्रो सुरक्षित ९५ देखि ९८ हो । तर, गोप्य मतदान भएकाले जे पनि हुन सक्छ । संस्थापन पक्षधर भनिएका केही नेताहरुको मत यता आउने सम्भावना छ ।’
को-को थपिए देउवातिर ?
यसअघि २०७० साल माघमा भएको संसदीय दलको चुनावमा देउवा सुशील कोइरालासँग पराजित भएका थिए । १ सय ९४ मत खस्दा कोइरालाले १०५ मत पाएका थिए भने देउवा ८९ मतमा खुम्चिएका थिए । तर, त्यो इतिहास सम्झेर देउवाले हतास हुनुपर्ने अवस्था अहिले छैन ।
पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापन समूहका धेरै नेता तथा सांसद देउवा समूहमा सरुवा भए । देउवालाई पार्टी सभापति बनाउन उनीहरुको समर्थनले अहम् भूमिका खेल्यो । दलको चुनावमा गुट परिवर्तनको यो सिलसिला चलेको छ ।
अहिलेसम्म पूर्वसंस्थापन छाडेर कुलबहादुर गुरुङ, केशव बुढाथोकी, फरमुल्लाह मन्सुर, अर्जुन जोशी, अर्जुननरसिंह केसी, जगदिशनरसिंह केसी, अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मा, चन्द्र भण्डारी, मिठु मल्ल, मिना सुब्बा, राम अध्योध्या यादव लगायत देउवा समुहमा भित्रिएका छन् । पार्टी महाधिवेशनमा संस्थापन समूहबाट चुनाव लडेका पद्म नारायण चौधरीले पनि संसदीय चुनावमा देउवालाई समर्थन गरेका छन् ।
त्यसो त महाधिवेशनमा तेस्रो धार बनेका कृष्ण सिटौलाको पोल्टामा पनि केही सांसद छन् । गगन थापासहितको सिटौला समूहले आफ्नो पक्षमा २५ बढी सांसद रहेको दाबी गरेको छ । तर, उनीहरुले दाबी गरेका केही सांसद यताउता चहार्न थालिसेका छन् ।
यो बीचमा देउवा समूह छाडेर डा. मिनेन्द्र रिजाल बाहेकका अरु नेता पौडेल समूहमा आएका छैनन् ।
पौडेलको चेष्टा
पार्टी चुनावमा जस्तै संसदीय दलको चुनावमा पनि देउवाको पल्ला स्पष्ट रुपमा भारी छ । यो पौडेलले पनि नबुझेका होइनन् । उसोभए ‘हार्ने चुनाव’ उत्साही भएर किन लड्दैछन् पौडेल ?
आफ्नो समूहको नेतालाई गुटबन्दीको डोरीले बाँधिरहनका लागि पौडेलले फेरि हार्ने रहर गरेको दाबी गर्छन् एक नेता । हुन् पनि यदि पौडेलको सट्टा प्रकाशमान सिंह वा अरु कोही उम्मेदवार भएको भए र देउवालाई कडा टक्कर दिए भने देउवालाई आफ्नो गुट जोगाउन गाह्रो पर्न सक्थ्यो ।
तर, संसदीय दलको नेतामा पनि उम्मेदवारी दिएपछि उनी कम्तिमा आफ्नो समूहको निर्विकल्प नेता बनेका छन् । त्यसो त कुनै उथलपुथल भएर संसदीय दलको नेता नै पड्काउन सक्छु कि भन्ने झिनो आशमा पनि छन् उनी ।
२०६६ को संसदीय दलको चुनावमा पहिलो चरणमा चार उम्मेदवारमध्ये कसैको पनि बहुमत पुगेन । ११४ सांसदमध्ये १०९ ले मात्र मतदान गरेका थिए । शेरबहादुर देउवाले ४५ मत ल्याए भने रामचन्द्र पौडेल ३९ मतका साथ दोस्रो भएका थिए । अन्य दुई उम्मेदवार कुलबहादुर गुरुङ र सुप्रभा घिमिरेले समान १२/१२ भोट ल्याए ।
दोस्रो चरणमा देउवालाई बलियो मानिएको थियो । तर, प्रकाशमान सिंहसहितका देउवाका कट्टर समर्थकहरुले गुट फेरेपछि पौडेल ६१ मतका साथ दलको नेतामा विजयी भए । त्यही इतिहास दोर्याउने चेष्टामा हुनेछन् पौडेल ।
बलेको आगो ताप्छन् कांग्रेसी
कांग्रेस संसदीय दलमा गोप्य मतदान हुन्छ । यसले सांसदहरुलाई सजिलो भएको छ । मत जसलाई हाले पनि आश्वासन दुवैतिर दिन सक्छन् ।
‘अहिले त देउवाले जसलाई पनि आफ्नो मान्लान् तर, भोलि नमान्न सक्छन् ।’
६६ सालकै चुनावको एउटा रोचक घटना छ । उक्त चुनावमा कुलबहादुर गुरुङ र सुप्रभा घिमिरे पनि उम्मेदवार थिए । उनीहरुले समान १२/१२ मत पाए । निर्वाचनमा हारे पनि दुबै उम्मेदवारले भोट दिनेहरुलाई चियापान कार्यक्रम राखे ।
सुप्रभाको चियापानमा ८ जना पनि पुगेनन् । तर, गुरुङ कहाँ २५ जना उपस्थित भए । केहीले मैले तपाईँलाई मत दिएको थिएँ तर, चियापनमा आउन सकिँन भन्दै फोन गर्न पनि भ्याए ।
यसले के देखाउँछ भने कांग्रेसमा बलेको आगो ताप्ने प्रवृत्ति हावी छ । अहिले भएको यही हो । एउटा टीमले आफ्नो कोर ग्रुपभित्र राखेकाहरु अर्कै टीमको ‘कोर मिटिङ’मा पुगेका हुन्छन् ।
यसले धेरैको हिसाव बिग्रिएको छ । लामो समयदेखि पूर्वसंस्थापन समूहमा लागेर अघाएका केही सांसदहरु अर्जुननरसिंह केसीकहाँ पनि पुगेका छन् । केही कृष्ण सिटौलाकहाँ पनि पुगेका छन् । उनीहरुमा केही सिधै देउवाकहाँ पनि जाने र लाइन मिलाउने प्रयासमा छन् ।
सांसदहरुको दौडधुपलाई नजिकबाट नियालिरहेका एक नेता भन्छन्, ‘अहिले त देउवाले जसलाई पनि आफ्नो मान्लान् तर, भोलि नमान्न सक्छन् ।’