११ श्रावण २०८१, शुक्रबार

नेतृत्व हस्तान्तरण गर्न माओवादीको दबाब


kp oli and prachanda

काठमाडौं- सत्तारुढ नेकपा माओवादी केन्द्रले पूर्व सहमतिअनुसार नेतृत्व हस्तान्तरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ। सत्तासाझेदार दलको आइतबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्व सहमति कार्यान्वयन नगरे सरकारबाट बाहिरिने संकेत दिएका छन्। दाहालले नौबुँदे लिखित र तीनबुँदे अलिखित सहमति अक्षरशः कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए।

बैठकमा सहभागी सत्तारुढ अन्य दलका नेताले पनि भद्र सहमति भएको भए दुवै दलका प्रमुख बसेर किनारा लगाउन सुझाव दिएका थिए। त्यसपछि प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच सोमबार छलफल गर्नेगरी बैठक सकिएको थियो।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारका सबै पाटा र पक्षका विषयमा सत्ता साझेदार दलबीच छलफल भए पनि कुनै टुंगोमा नपुगेको बताए। बैठकमा सत्तासाझेदार दलका नेताले आ–आफ्नो धारणा राखेको जनाउँदै श्रेष्ठले प्रमुख दुई दलका अध्यक्षबीच सोमबार पुनः छलफल हुने जानकारी दिए। ‘भोलि (सोमबार) दुई पार्टीका अध्यक्षबीच छलफल हुन्छ र दुवै पार्टीका अन्य नेतासहितको बैठकपछि साझेदार दल फेरि बस्ने छौं,’ श्रेष्ठले नागरिकसँग भने, ‘त्यसपछि हामी एउटा टुंगोमा पुग्छौं।’

ओली नेतृत्व सरकारबाट बाहिरिने विषयमा कुनै निर्णयमा पुगिनसकेको जनाउँदै श्रेष्ठले भने, ‘पार्टी हेडक्वार्टरको बैठक भोलि पनि छ तर अहिले नै सरकारबाट बाहिरिने विषयमा कुनै निष्कर्षमा पुगेका छैनौं।’

सरकार परिवर्तनको चर्चा व्यापक भएको समयमा एक साताभित्रै आफ्नो नेतृत्वमा सरकार गठन गर्नेगरी माओवादीले तयारी सुरु गरेको स्रोतले जनाएको छ। एमाले उपाध्यक्ष वामदेव गौतमले सत्तागठबन्धनमा देखिएको असमझदारी अन्त्यका लागि प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहाललाई जिम्मेवारी दिइएको बताएका छन्।

‘सोमबार थप गृहकार्यका साथ शीर्ष नेता बसेर असमझदारी अन्त्य गर्ने र मंगलबार पुनः बस्ने सत्तारुढ दलको बैठकले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्नेछ,’ गौतमले बैठकपछि सञ्चारकर्मीसँग भने।

माओवादी नेताले ओली नेतृत्वको सरकार गठन हुनुअघि दुई दलबीच भएको १४ बुँदे सहमति र वैशाख २३ गते भएको नौबुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका थिए। अध्यक्ष दाहालले दुई दलबीच बजेट पारित भएपछि माओवादीलाई सत्ता हस्तान्तरण गर्ने समझदारी भएको दोहोर्‍याउँदै कार्यान्वयनमा लैजान प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

माओवादी नेता श्रेष्ठले पार्टीले विगतदेखि उठाउँदै आएका विषयलाई आइतबारको बैठकमा पनि राखेको जनाए। तर, राप्रपा नेपाल, नेकपा (माले), राष्ट्रिय जानमोर्चासहितका दलले वर्तमान गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। एमाले र माओवादीबीच कुनै समस्या भए दुई दलका अध्यक्ष बसेर समाधानमा पुग्न उनीहरुले सुझाएका थिए। ‘गठबन्धनको काम–कारबाहीबारे समीक्षा गर्न बैठक बसेको हो,’ उपप्रधानमन्त्री समेत रहेका नेकपा मालेका महासचिव सिपी मैनाली भने, ‘गठबन्धनभित्र समस्या छन्। त्यसलाई छलफल र सहमतिको माध्यमबाट समाधान गरेर अघि बढ्नुपर्छ।’ नेतृत्व हस्तान्तरणको भद्र सहमतिबारे जानकारी नभएको भन्दै उनले थपे, ‘दुई दलबीच सहमति भएको भए उहाँहरू (ओली र दाहाल) बसेर त्यसको समाधान दिनुपर्छ।’

तर, प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममा सत्ता नेतृत्वसहितका विषयमा कुनै प्रकारको भद्र सहमति नभएको बताउँदै आएका थिए। प्रधानमन्त्री ओलीले बैठकमा गठबन्धनको सम्बन्धमा धेरै विषय बाहिर आएको भन्दै छलफल गर्न सबै दललाई बोलाइएको जानकारी गराएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले गठबन्धनलाई कसरी अझै मजबुत बनाएर लैजाने विषयमा छलफल भएको जानकारी दिए। ‘यस विषयमा प्रधानमन्त्री ओली र केन्द्रका अध्यक्ष दाहालबीच भोलि वा पर्सी थप छलफल हुनेछ।’

त्यसअघि सोमबार बिहान बसेको माओवादी हेडक्वार्टरको बैठकले नेकपा एमालेसँग वैशाख २३ गते भएको नौबुँदे सहमति अक्षरशः पालन गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो। उसले तीनबुँदे भद्रसहमति भएको दोहोर्‍याउँदै त्यसअनुसार सहमतीय सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको थियो।

माओवादीले संविधान कार्यान्वयनदेखि शान्तिप्रक्रियासम्मका बाँकी काम पूरा गर्न सहमतीय सरकार आवश्यक रहेको औंल्याउँदै प्रधानमन्त्रीले त्यसका लागि मार्गप्रशस्त नगरे नयाँ सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो।

‘दुई दलबीच भएका सहमति कार्यान्वयन तहमा लैजान प्रधानमन्त्रीसँग आग्रह गर्ने निर्णय भएको छ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नागरिकसँग भनिन्, ‘दलीय सहमति कार्यान्वयन हुन्छ भन्नेमा आशावादी छौं।’

तत्कालीन एकीकृत नेकपा माओवादीले ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएर नेपाली कांग्रेससँग सरकार गठन गर्ने तयारी गरेपछि वैशाख २३ गते नौबुँदे लिखित सहमति भएको थियो। त्यसक्रममा तीनबुँदे भद्र सहमति भएको माओवादीले दाबी गर्दै आएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !