१२ असार २०८१, बुधबार

राष्ट्रिय सहमतिको सरकार बने, ओली पनि आफुलाई स्वीकार्य : प्रचण्ड


Prachanda

१६ असार, २०७३:- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयन र असन्तुष्ट दलहरुको माग सम्बोधनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय सहमति बने बर्तमान प्रधानमन्त्री केपी ओली पनि आफुलाई स्वीकार्य रहेको उल्लेख गरेका छन् ।

ओली नेतृत्व सरकारको विकल्प खोज्न कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुबीच छलफल भएको चर्चा चलिरहेका बेला उनले बिहीबार नेपालगन्जको एक कार्यक्रममा सहमतीय सरकारमा जोड दिएका हुन् । उनले संविधान कार्यान्वन नहुने खतरा पनि उत्तिकै बढ्दै गएको दाबी गरे ।

‘आउने माघसम्म संविधान कार्यान्वयन हुननसके मुलुक ठूलो दुर्घटनामा पर्नसक्ने खतरा छ । संविधानलाई अफसल पार्ने तत्व पनि क्रियाशिल हुँदै गएका छन,’ अच्यूतराज सुवेदी स्मृती प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने,‘त्यसका लागि राष्ट्रिय एकता आवश्यक छ । राष्ट्रिय एकतालाई मुर्तरुप दिनका लागि राष्ट्रिय सहमतिको सरकार नै हो ।’ तर, हाल मुलुकमा राष्ट्रिय एकताको अभाव हुँदै गएको उनको दाबी छ ।

सम्बोधनको अधिकांश समय उनले राष्ट्रिय एकतामै बढी जोड दिएका थिए । उनले राष्ट्रिय सहमितको सरकारले मात्रै मुलुकको वर्तमान समस्या हल गर्नसक्ने दाबी गरेका छन् । ‘संविधान कार्यान्वयनका लागि सबै प्रमुख दलको सहमतिको सरकार हुनुपर्छ । त्यस्तै, मधेसी, थारु, आदिबासी जनजातिलगायतका माग संबोधनका लागि संविधान संशोधनका लागि पनि सहमति जरुरी छ,’ दाहालले भने,‘देश अझै अप्ठ्यारो परिस्थितिमा छ । त्यसको विकल्प भनेकै राष्ट्रिय एकता हो ।’

तर, सहमतीय सरकारमा जोड दिंदा नेकपा माओबादी फेरि सत्तामा जान खोजेको आरोप लाग्न थालेको उनले बताए । उनले केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन भएपनि स्वीकार गर्ने बताए । ‘कांग्रेसको नेतृत्वमा सरकार बनेपनि स्वीकार्छौँ । तर, प्रमुख दलबीच राष्ट्रिय सहमतिको सरकार बनोस,’ उनले भने,‘सरकारको नेतृत्व गर्नका लागि सहमतिको कुरा गरेको होईनौं । राष्ट्रिय एकता बलियो बनाउन उक्त मुद्दा अगाडि सारेका हौँ ।’

उनले सरकार नेतृत्वकर्तामा राजनीतिक अहंकार देखिन थालेको बताए । त्यस्तै, भूकम्पबाट भएको क्षतिको पुर्ननिर्माणमा सरकारको तर्फबाट ढिलाई भइरहेको दाहालको भनाई थियो । ‘बिनासकारी भूकम्पपछि जसरी दलहरुबीच राष्ट्रिय एकता कायम भएको थियो त्यो अवस्था अहिले छैन । दलहबीच फेरि असन्तुष्टी बढ्दै गएका छन्,’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !