१ फाल्गुन २०८२, शुक्रबार

ओलीको जिकिर- भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको थिइनँ


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको जिकिर गरेका छन् । आज बुधबार सामाजिक सञ्जालमार्फत एक लामो स्टाटस लेख्दै उनले सरकारको आदेशमा उक्त दिन गोली नचलेको र सरकारले आदेश पनि नदिएको जिकिर गरेका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीले गएको भदौ २३ गते आफूले गोली चलाउने कुनै पनि आदेश नदिएको स्पष्ट पारेका हुन् । बरु उनले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म पनि कुनै गोली नचलेको जिकिर गरेका छन् । ओलीले आफू र नेकपा एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न आग्रह समेत गरे ।

संसद् भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले आन्दोलन नभई राज्यविरुद्धको हमला मान्ने ओलीले स्पष्ट पारेका छन् । आफू खुला रूपमा कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार रहेको ओलीले बताए । सामाजिक सञ्जालमा गरिएका गलत प्रचारमा नलाग्न आग्रह गरे ।

उनले केहीदिनदेखि तत्कालीन प्रधानमन्त्रीको रुपमा आफूले नै गोली चलाउनेजस्ता आदेश दिएको भन्दै निराधार हल्ला फिँजाइएको दाबी गरेका छन् । सरकारले त्यतिबेला घुसपैठको सम्भावना भएकाले माइतीघरमा प्रदर्शन रोक्ने निर्णय लिएको उनको स्पष्टोक्ति छ ।

आफ्नो राजीनामापछि नै सिंहदरबार, राष्ट्रपति भवन सर्वोच्च अदालत लगायत सबै धरोहरहरू जलाइएको उनको भनाइ छ । उनले खुला रुपमा कुनै पनि मञ्चमा बसेर आफू यसबारे जवाफ दिन तयार रहेको पनि बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !