४ फाल्गुन २०८२, सोमबार

अधिनायकवादी शैली नरोकिए पार्टी फुट्ने झलनाथको प्रचण्डलाई चेतावनी


झलनाथको प्रचण्डलाई चेतावनी

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी नेतृत्वको अधिनायकवादी शैली नरोकिए पार्टी फुट्ने चेतावनी दिएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले प्रचण्डलाई यस्तो चेतावनी दिएका हुन् ।

खनालले नेता हरिबोल गजुरेललाई गरिएको कारबाहीप्रति कडा आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता नभए पार्टी एकीकरण भई नसक्दै विशृङ्खलता तिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुने उल्लेख गरेका छन् ।

खनालले गजुरेलजस्ता वरिष्ठ नेतालाई स्पष्टीकरणको मौकासमेत नदिई निष्कासन गर्नु आश्चर्यजनक र कठोर निर्णय भएको टिप्पणी गरेका छन् । उनले पार्टीका अन्य घटकबाट आएका नेताहरूलाई जानकारी नै नदिई सञ्चारमाध्यमबाट कारबाहीको खबर सार्वजनिक गरिनु विधि र पद्धति विपरीत भएको टिप्पणी गरेका छन् ।

उनले पार्टी एकता घोषणाको लामो समय भइसक्दा पनि नेतृत्वदायी कमिटी बन्न नसकेको र संस्थागत निर्णय प्रक्रिया विकास नभएको भन्दै एकाध व्यक्तिको चाहनामा ठूला निर्णय हुन थालेको आरोप समेत लगाए । नेता खनालले गजुरेलमाथिको कारबाही तत्काल फिर्ता लिन र नेतृत्व तहमा रहेका नेताहरूको आकस्मिक बैठक बोलाउन संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डसँग’ माग गरेका छन् ।

आगामी फागुन २१ गतेको आम निर्वाचन नजिकिँदै गर्दा कम्युनिष्टहरूबीच नीतिनिष्ठ एकता आवश्यक रहे पनि नेतृत्वको कार्यशैलीले समस्या निम्त्याएको खनालको निष्कर्ष छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !