काठमाडौँ । नेपाली काँग्रेसको शेर बहादुर देउवा समूहले पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा पनि गुमाएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएसंगै देउवा समूहले पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा पनि गुमाएको हो ।
प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।
आयोगको आज शुक्रबार बसेको बैठकले थापालाई सभापतिको मान्यता दिएको हो । आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । आयोगले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए ।
आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो । कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो । देउवा पक्षले पनि आफू नै आधिकारिक भएको जिकिरसहित आयोगमा डकुमेन्ट बुझाएको थियो ।












