काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अवैधानिक भन्न नसक्ने जिकिर गरेका छन् । आज सोमबार विशेष महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो जिकिर गरेका हुन् ।
उनले भने, ”नेपालको संविधानको आधारमा बनेको राजनीतिक दलसम्बन्धी ऐनका आधारमा कांग्रेसको विधान निर्वाचन आयोगले पारित गरेको विधान हो । त्यसैले एक दुई तीन निर्वाचन आयोगले विशेष महाधिवेशन अवैधानिक भन्न सक्दैन ।”
कांग्रेस विधानको धारा १७ को उपधारा २ मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएर निवेदन दिएको खण्डमा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने प्रावधान छ ।
उनले विशेष महाधिवेशन कसरी वैधानिक हो भनेर आफ्नो प्रतिवेदनमा राखेको पनि बताए । गएको असोज २८ गते ५४ प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष महाधिवेशनको निवेदन कांग्रेस केन्द्रीय कार्यालयमा दिइएको थियो ।












