७ फाल्गुन २०८२, बिहिबार

राप्रपामा समानुपातिकको विषयलाई लिएर महिला नेतृहरूबीच पार्टी कार्यालयमै झडप


राप्रपामा समानुपातिकको विषयलाई लिएर महिला नेतृहरूबीच पार्टी कार्यालयमै झडप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उम्मेदवारको विषयलाई लिएर किचलो उत्पन्न भएको छ । राप्रपाको समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै महिला नेतृहरूले विरोध जनाएका छन् ।

सूची सच्याउन दबाब दिन पुगेका महिला नेताहरू र पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामाबीच कार्यालय परिसरमै झडप भएको बताइएको छ ।

महिला नेताहरूले समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको अन्त्य गर्न माग गर्दै पार्टी कार्यालयमा विज्ञप्ति बुझाएका छन् । उनीहरूले अनसन समेत सुरु गरेका छन् ।

समानुपातिक प्रणालीलाई सीमित व्यक्तिको पारिवारिक स्वार्थका लागि प्रयोग गरिएको आरोप उनीहरूको छ । पार्टी उपाध्यक्ष तामाङकी श्रीमती लामा र केन्द्रीय सदस्य खुश्बु ओलीको नाम समानुपातिक सूचीबाट हटाउनुपर्ने माग उनीहरूले राखेका छन् ।

विज्ञप्तिमा परिवारका सदस्य मात्रै समानुपातिकबाट तीनजना र गठबन्धनमार्फत थप एकजना अघि सारिएको उल्लेख गर्दै महिला नेतृहरूले आपत्ति जनाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !