काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आइतबारसम्म सरकारसँग सम्झौता नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारले आइतबारसम्मको समय मागेको बताए । उनले आन्दोलनको क्रममा लघुबित्त, सहकारी र बैंकहरूलाई गाउँगाउँबाट लखेट्ने चेतावनी दिए । आगामी २१ फागुनको निर्वाचन बिथोल्नेसमेत उनको भनाइ छ ।
यस्तै संयोजक प्रसाईंले नक्कली जेनजी बोकेर सरकार चुनावमा जान लागेको आरोप लगाएका छन् । जेनजी आन्दोलनमा सहभागी ३७ भन्दा बढी समूहका सक्कली जेनजीलाई रुवाएर सरकार चुनावमा जान नसक्ने उनको भनाइ छ ।
वार्तामा प्रसाईंसँगै केही जेनजीका प्रतिनिधि पनि सहभागी थिए । उनीहरूले आफ्ना ११ सयभन्दा बढी साथी विभिन्न अभियोगमा थुनामा रहेको भन्दै तत्काल रिहाइको माग गरेका थिए ।












