१ फाल्गुन २०८२, शुक्रबार

रवि, बालेन र कुलमानलक्षित ओलीको टिप्पणी – बाख्रा, कुखुरा र स्यालले मोर्चा गरेर केही हुँदैन


केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाख्रा, कुखुरा र स्यालले मोर्चा गरेर केही नहुने टिप्पणी गरेका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन शाह र नेपाल सरकारका उर्जामन्त्री एवं उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङलाई एउटै पार्टी रास्वपामा मिलेपछि ओलीको यस्तो टिप्पणी बाहिर आएको हो ।

उनले रास्वपा, उज्यालो नेपाल पार्टी (उनेपा) र काठमाडौँ महानगरका मेयर बालेनबीचको एकतालाई उनले दुब्लाहरूको मोर्चाबन्दीको संज्ञा दिँदै कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर केही नहुने दाबी गरे । उनले दुब्लाको काम नै मोर्चा गर्ने भन्दै अरू पनि मोर्चा हुने बताए । ‘घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ?’ओलीले प्रश्न गर्दै भने ।

अध्यक्ष ओलीले लोकतन्त्रले नै जित्ने भन्दै विशाल एमाले र कांग्रेस देखेपछि योसँग र उसँग मिल्ने क्रम जारी रहेको बताए । ओलीले थपे, ‘विशालकाय एमालेसँग भिड्नुछ । अनि लौ न मिलौं भनेर कुखुराले मोर्चा गरेर, बाख्राले मोर्चा गरेर सिंहको शिकार हुन्छ ? मुकाबिना हुन्छ ?’

देशमा को लोकप्रिय छ भन्ने चर्चा निर्वाचनसँगै रहने उल्लेख गर्दै उनले घरघरबाट प्रधानमन्त्री घोषणा गरेको भन्दै बालेन शाहप्रति व्यंग्य गरे । ‘प्रधानमन्त्री बनाइसके मान्छेले- घरैमा । हामी चुनाव पर्खिरहेका छौं । कहिले होला ? फागुन २१ मा होला, अर्को वैशाखमा होला वा अर्को मंसिरमा होला । हामी चुनाव पर्खिरहेका छौं,’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !