फाइल फोटो
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा विदेशी चलखेल रहेको बताएका छन् । थापागाउँमा आज मंगलबार मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन समारोह सम्बोधनका क्रममा उनले नेपालमा छिमेकी मुलुकसँगै विश्वको शक्तिशाली देशको चलखेल रहेको बताएका हुन्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन शाह र नेपाल सरकारका उर्जामन्त्री एवं उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङलाई एउटै पार्टी रास्वपामा मिलेपछि कोइरालाको यस्तो टिप्पणी बाहिर आएको हो ।
उनले नेपालमा विदेशी चलखेल छैन भन्न नमिल्ने जिकिर गरे । विदेशीहरूमा नेपालका राजनीतिज्ञरू प्रति चासो र चिन्ता रहेको उनको भनाइ थियो । विदेशी शक्तिहरूले सधैं नेपालका राजनीतिज्ञहरूलाई जनताका प्रति संवेदनशील हुन र जनताको काम राम्रोसँग गर्न भन्ने गरेको पनि कोइरालाले बताए ।
कोइरालाले दलका नेताहरू आफ्नो स्वार्थका लागि गलत कदमहरू चालिरहेका पनि टिप्पणी गरे । नेता कोइरालाले अब बन्ने सरकारहरूले गलत कुराहरूलाई प्राथमिकतामा नराख्ने र गलत काम गर्नेहरूलाई दण्डित गर्नेमा जोड दिए ।












