काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुद्ध एयरको जहाजमा चितवनको भरतपुर विमानस्थल पुगेका छन् । रुपन्देहीको भैरहवा विमानस्थलमा कुहिरो लागेपछि उनी काठमाडौंको त्रिभुवन विमानस्थलबाट चितवन गएका हुन् ।
भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुलेपछि रास्वपाका सभापति लामिछाने चितवनको भरतपुरसम्म जहाजमा गएर रुपन्देहीसम्म भने गाडीमार्फत जान लागेका हुन् । आज बिहान ७:५५ बजेदेखि भैरहवाको लागि उडान पर्खिएका उनी मौसम नखुलेपछि भरतपुरसम्म जहाजमा गएर त्यहाँबाट गाडीमा जान लागेका हुन् ।
हिजो बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने अदालत उपस्थित हुन भैरहवा जान लागेका हुन् । बिहीबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्ववय वासुदेव आचार्य र तेजनारायण पौडेलले उनलाई ३ वटा सर्त पुरा गरेर छाड्न आदेश गरेका थिए ।
आदेशको अन्तिम बुँदामा रविलाई कागज गराउने विषय उल्लेख छ । त्यही प्रक्रिया पूरा गर्न नक्खु कारागारबाट निस्किएर उनी रुपन्देही जिल्ला अदालत जान लागेका हुन् ।












