काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार कपनबाट पक्राउ गरेको हो ।
सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा खटिएको टोलीले धनकुटा पाख्रिबासका ५० वर्षीय लामालाई पक्राउ गरेको हो । उनी १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा बम विस्फोट गराएको मुद्दामा पहिले पक्राउ परेका थिए ।
उनले बबरमहलमा विस्फोट गराउँदा मानबहादुर तामाङसहित ३ जनाको मृत्यु भएको थियो । उनी उक्त घटनामा दोषी ठहर भई २०७६ सालमा प्रजातन्त्र दिवसका अवसरमा छुटेका थिए । जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी अर्को मुद्दामा फरार रहेको पाइएपछि पक्राउ गरिएको हो ।
उनी पाँचथरमा २०८१ भदौ १४ गते भएको विस्फोट पदार्थसम्बन्धी कसुरका आरोपी हुन्। विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार अभियुक्त लामालाई आज पक्राउ गरिएको हो।












