४ फाल्गुन २०८२, सोमबार

जंग्गीअड्डा पुगेर प्रधानमन्त्रीले भनिन् – चुनावमा एक थोपा रगत नबग्नेगरी खटिनुस्


सुशीला कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत नबग्नेगरी र एक जना पनि घाइते नहुनेगरी काम गर्न नेपाली सेनालाई निर्देशन दिएकी छिन् । प्रधानमन्त्री कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणपछि यस्तो निर्देशन दिएकी हुन् ।

यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो । साथै, निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्कीले आन्दोलनपश्‍चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन गर्ने राष्ट्रिय अभिभारा रहेको बताएकी थिइन् । उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न नेपाली सेनालाई प्राप्‍त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !