काठमाडौं । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको भन्दै मुभमेन्टले बहिस्कारको चेतावनी समेत दिएको छ ।
आज सोमबार जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले एउटा विज्ञप्ति जारी गर्दै सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणको आरोप लगाउँदै जेनजी मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको हो । जेनजी मुभमेन्टले विद्रोहका आदर्श, सुशासनका लागि प्राण अर्पण गरेका सहिद घाइतेहरूसहित नेपाली जनताप्रति गम्भीर अपमानमा लाग्दा सरकारले नैतिकता र जनविश्वास दुवै गुमाएको जनाएको छ ।
जेन्जी मुभमेन्ट नेपालले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काका नाता पर्नेलाई सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी थपेको र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नन्तलाई सचिवालयमा नियुक्त गरेको आरो लगाएको छ ।
साथै सुशीला कार्की नेतृत्वको सरकारको ‘राजनीतिक नैतिकता र जनविश्वास दुवै समाप्त भइसकेको भन्दै उसले सार्वजनिक अवज्ञा गर्न सबैलाई आह्वान गरेको छ ।













