१ फाल्गुन २०८२, शुक्रबार

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


दुर्गा प्रसाईं

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको छ । प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंसिर २ गते सोमबार मध्यराति उनकै निवासबाट पक्राउ गरेको थियो ।

प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्‍याउनेगरी अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंसिर २ गते सोमबार मध्यराति पक्राउ गरेको थियो । आज मङ्सिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका प्रसाईंले भड्कापूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उनलाई पक्राउ गरिएको थियो ।

हिजो शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र अभियानका प्रतिनिधिबीच भएको वार्तामा अर्को चरणको वार्ता महाअभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएअनुसार प्रसाईं चाँडै छुट्ने सरकारले नै संकेत गरेको थियो । हिजोको वार्तामा महाअभियानले प्रस्तुत गरेका २७ बुँदे मागबारे विस्तृत छलफल गर्दै समाधानका लागि निरन्तर संवाद अघि बढाउने सहमति दुवै पक्षबीच बनेको हो ।

प्रसाईंको महाअभियानले आज आइतबारदेखि गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिएको थियो । छलफल क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्था समेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !