काठमाडौँ । दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज आइतबारदेखि गर्ने भनिएको नेपाल बन्द, अनिश्चितकालीन आम हड्तालका कार्यक्रमलाई फिर्ता लिएको छ।
हिजो शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र अभियानका प्रतिनिधिबीच भएको वार्तामा महाअभियानले प्रस्तुत गरेका २७ बुँदे मागबारे विस्तृत छलफल गर्दै समाधानका लागि निरन्तर संवाद अघि बढाउने सहमति दुवै पक्षबीच बनेको हो ।
छलफल क्रममा वर्तमान शान्ति सुरक्षाको अवस्था समेतलाई ध्यानमा राखी नागरिक बचाउ महाभियानले उठाएका मुद्दाहरूको सम्बोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।
वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. निराजन प्रसाईं थिए। सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्द नारायण तिमिल्सिना लगायतको उपस्थिति थियो।
अर्को चरणको वार्ता महाअभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको छ ।













