काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संसद् पुनर्स्थापनाको अडानले देशलाई पुन: राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुने बताएकी छन् । आज बुधबार राजनीतिक दलहरूसँग सिंहदरबारमा छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले संसद् पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले पुन: राष्ट्रलाई अस्थिरताको चक्रमा धकेल्न सक्ने बताउँदै दलको साथ, सहयोग र सहभागिताबिना चुनावको परिकल्पना असम्भव रहेको बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल भएकाले साथ सहयोगको अपेक्षा गरिन् । उनले दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिने उल्लेख गरिन् ।
उनले निर्वाचनको घोषणापछि पनि कुनैकुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद् पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्ने बताइन् ।












