१ फाल्गुन २०८२, शुक्रबार

मध्यरातमा दुर्गा प्रसाईं आफ्नै निवासबाट पक्राउ


दुर्गा प्रसाईं

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । मङ्सिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका प्रसाईं सोमबार मध्यरातमा भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी प्रहरी परिसरको कार्यालय भद्रकालीमा राखिएको छ । आन्दोलन घोषणा गरेर भड्कापूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उनलाई पक्राउ गरिएको बताइएको छ।

उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । यतिमात्रै होइन देशको प्रतिष्ठासँगै जोडिएको एनपीएल समेत रोक्न उनले क्यानका अधिकारीहरुलाई चेतावनी दिएको सार्वजनिक भएको थियो ।

सोमबार मात्रै पनि प्रसाईंले भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखाएकाले पूर्वघोषित आन्दोलन नरोकिने बताएका थिए । उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएकाले आन्दोलनलाई कसैले रोक्न नसक्ने धारणा राखेका थिए ।

प्रसाईं नेतृत्वको समूहले हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितको एजेण्डा अघि सार्दै आएको छ । उनको मागका सम्बन्धमा कात्तिक २६ गते गृह मन्त्रालयमा वार्ता समेत भएको थियो । तर उक्त वार्ता निष्कर्षविहीन भएको थियो ।

यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु