काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा सर्वोच्च अदालतबाट मिसिल झिकाउने आदेश भएको छ ।
आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सर्वोच्चमा रहेको मूल अभियोगको मिसिल झिकाउन आदेश गरेको हो । न्यायाधीशद्वय ओमप्रसाद अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले थप प्रमाण भन्दै मिसिल झिकाउन आदेश दिएको हो ।
यसअघि कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।
आज सुनुवाइका क्रममा रविको पक्षबाट मधेस प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झा, डा. नारायण कँडेल र महेन्द्र पाण्डेले बहस गरेका थिए । सरकारी वकिलको कार्यालयका तर्फबाट उच्च सरकारी वकिल कार्यालय, बुटवलका महान्यायाधिवक्ता सन्देश श्रेष्ठ र महान्यायाधिवक्ता प्रकाश मरासिनीले बहस गरेका थिए ।
रविले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरेका छन् । उनले बिगोबराबरको बैंक ग्यारेन्टी बुझाए पनि यसअघि जिल्ला अदालत रूपन्देहीले रिहा नगरेपछि उनी उच्च अदालत गएका हुन् ।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो बुझाएर थुनामुक्त हुन पाऊँ भन्दै जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए ।
रवि तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक थिए । छवि तत्कालीन गोर्खा मिडियाका सञ्चालक थिए । अहिले रवि नख्खु कारागारमा रहेका छन् भने छवि भैरहवा कारागारमा रहेका छन् ।












