बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवं पूर्व डीआईजी छविराज जोशीको मुद्दामा मुल मिसिल झिकाउने आदेश भएको छ ।
उच्च अदालत बुटवलले रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका सभापति लामिछाने र जोशीको मुद्दामा मुल मिसिल झिकाउने आदेश भएको हो ।
न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीसम्बन्धी मुद्दाका सबै फाइल र आदेश जिल्ला अदालत रुपन्देहीबाट झिकाउने आदेश गरेको हो । फाइल आएपछि लामिछानेले बिगोबराबर रकम बुझाएर थुनामुक्त हुन पाउने मागमाथि सुनुवाइ हुने छ । सुनुवाइका क्रममा मिसिल अपुग भएकाले अर्को पेशी तोकिएको छ ।












