४ फाल्गुन २०८२, सोमबार

सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्न मन्त्रीहरु र सचिवरूलाई प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री कार्कीद्वारा सबै मन्त्री र सचिवहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पारेर कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् । आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्री र सचिवहरूलाई बोलाएर आयोजना गरिएको छलफलमा उनले यस्तो निर्देशन दिएकी हुन् ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको नागरिकले अनूभूति गर्नेगरी सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्न प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन् ।

‘गत भाद्र २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लूप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस्,’ प्रधानमन्त्री कार्कीले निर्देश गरेकी छिन् ।

कर्मचारीहरूलाई स्थायी सरकार भएको बताउँदै आफ्नो ज्ञान, सीप र अनुभवको प्रयोग गर्दै कर्तव्य र उत्तरदायित्व पालनमा खरो उत्रन उनले आग्रह गरिन् ।
कर्मचारीहरूले नै अघि सारेका सुधार योजनाले आगम नागरिकलाई छुन सक्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

त्यस्तै, उनले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्न पनि निर्देशन दिएकी छिन् ।

निजी क्षेत्रको मनोवल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्न उनले कर्मचारीलाई भनेकी छिन् । आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको क्षति तथा नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुनर्निर्माणको नीति र कार्ययोजना बनाउन पनि उनले आग्रह गरेकी छिन् ।

अनावश्यक देखिएका संरचना खारेज गर्ने गाभ्ने तथा हस्तान्तरण गरी सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त र उच्च उत्पादकत्वयुक्त बनाउने कार्य तत्काल प्रारम्भ गर्न पनि उनले आग्रह गरेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !