काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादीसहितका दलबीच एकताका लागि विभिन्न सहमति गरिएको छ । आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी र एकीकृत समाजवादीसहितका दलबीच १८ बुँदे एकताको सहमति भएको हो ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पाटी नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी)बीच पार्टी एकता र कम्युनिस्ट एकीकरणको प्रकृया अगाडि बढाउन हस्ताक्षर गरिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता भएको नेताहरुले बताएका छन् ।
छलफलपछि एकता प्रक्रिया अघि बढाउनका लागि विभिन्न प्रस्तावहरूमा सहमति गरिएको हो । सहमतिअनुसार, सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना कात्तिक १९ गते गरिने छ ।
एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरू गरिने उल्लेख छ । आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिने जनाइएको छ ।












