९ फाल्गुन २०८२, शनिबार

भाषण गर्दागर्दै अचानक ढलेर जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतमको निधन


कमल गौतम

रूपन्देही । राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार आकस्मिक निधन भएको छ । भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला गौतम अचानक ढलेका थिए ।

रुपन्देहीमा १३ वटा उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दा बोल्दै ढलेका ६५ वर्षीय गौतमलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका हुन्।

धर्ना कार्यक्रममा बोल्दै उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए । उनले उद्योगीहरूले नियमित रूपमा मासिक रूपमै बिद्युत् महसुल तिर्दै आएकोमा एक्कासि ४ वर्षको बिल थमाउँदा उनीहरू पिडित भएको बताएका थिए ।

उनले यो आन्दोलनलाई साङ्केतिक रूपमा मात्र लिन जरुरी रहेको र २५ हजार श्रमिकहरूको रोजगारी गुम्दै गएको बताए । उनले श्रमिकहरूलाई गुमाउन नचाहेको बत्ताउँदा बताउँदै उनको बोली लरबरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !