२ फाल्गुन २०८२, शनिबार

प्रधानमन्त्री र गृहमन्त्रीबाट गोली हान्ने आदेश भएको थिएन : रमेश लेखक


रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा बल प्रयोगका लागि आदेश भएको आरोपको खण्डन गरेका छन् । निवर्तमान गृहमन्त्री लेखकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको स्पष्ट पारेका हुन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान गएपछि पदबाट राजीनामा दिएका लेखकले एक महिनापछि यस विषयमा टिप्पणी गरेका हुन् ।

लेखकले भने, “बल प्रयोग गर्ने विषयमा गृहमन्त्री र प्रधानमन्त्रीले निर्देशन गरेको भन्ने सवाल उठेका छन् । त्यो आदेश गर्ने भन्ने विषय पनि होइन । आदेश गरिएको छैन । सो घटनाहरू दु:खद भए । धेरै मानिसहरूले ज्यान गुमाए, मलाई गहिरो पीडा भयो ।”

उनले बल प्रयोगको आदेश नभएको र जेनजीका मागप्रति सरकार नकारात्मक पनि नभएको दाबी गरे । उनले जेनजी आन्दोलनका माग सकारात्मक भए पनि प्रदर्शनमा घुसपैठ हुँदा अराजकता निम्तिएको जिकिर गरे ।

लेखकले सोही बेलामा पनि घुसपैठ भएको विषय सत्य देखिएको समेत बताए । उनले जेनजी आन्दोलनले उठाएका माग सम्बोधन गर्नुपर्ने खालका रहेको पनि बताए ।

जेनजीहरूका माग समेट्न कांग्रेस र प्रमुख राजनीतिक दलहरूबीच साझा समझदारी आवश्यक रहेको उनको भनाइ छ । त्यस क्रममा उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु