२ फाल्गुन २०८२, शनिबार

संसद् विघटन असंवैधानिक, पुनर्स्थापना गर्नुपर्छ : केपी ओली


केपी शर्मा ओली

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल संसद् पुनर्स्थापनाको बाटोमा जानुपर्ने बताएका छन् । आज बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले संसद् फर्काउने मागमा अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

“देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरेको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन,” ओलीले भने । “संसद् विघटन असंवैधानिक, गलत छ । गैरकानुनी छ । अलोकतान्त्रिक छ, देशको हितको विरुद्धमा छ । हामीलाई थाहा छैन र ? फागुन २१ पर्खनु परेको छैन,” उनले भने ।

अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको र त्यसमा नेपाली कांग्रेस पनि सहमत हुने विश्वास व्यक्त गरे । सम्बोधनका क्रममा अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने हो भने राजनीतिक दलहरुको विश्वास जितेर निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनुपर्ने बताए ।

“यतिबेला राष्ट्रलाई एकता र स्थिरता चाहिएको छ । लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा आएर शान्ति सुव्यवस्था कायम गर्दै देशलाई समृद्ध बनाउनुपर्छ’’, उनले भने , “सरकारले यसका लागि सकारात्मक र अनुकूल वातावरण निर्माण गर्नुपर्छ ।’’

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु